१२ चैत्र, गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणको सन्दर्भमा ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतवार गोरखा दरवार दर्शन पश्चात संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘सवारी शब्दको रुड मिनिङ हुन्छ, यसलाई सामान्तवादको प्रतिकको रुपमा लिइन्छ,’ उनले भने, ‘त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौ ।’ सवारी शब्दको ठाउँमा आवागमन शव्द प्रयोग गर्न उनले सुझाए ।
गणतन्त्र र राजतन्त्रको राष्ट्र अध्यक्ष बिच फरक हुन्छ भन्ने कुरामा आफूले चुनावकै बेलादेखि हेक्का राख्दै आएको समेत उनले बताए । राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको उनले जानकारी दिए ।
नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपश्चात काठमाण्डौ बाहिरको पहिलो भ्रमण ऐतिहासिक र धार्मिक महत्वको जिल्ला गोरखामा गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे । ठुलोआँगन स्थित पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण गर्न पाउँदा गर्व महशुस भएको भन्दै उनले राज्य एकीकरणमा पृथ्वी नारायण शाहको योगदानको प्रशंसा समेत गरे ।
‘गोरखा आएर मैले रामशाहको न्यायको कुरापनि सम्झेको छु, बिसे नगर्चीको कर्तव्यबोध पनि सम्झेको छु, मलाई गोरखामा स्वागत गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।



































