२ पुष, गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित महालक्ष्मी माध्यमिक बिद्यालयलाई बस हस्तान्तरण गरिएको छ । कल्स ओवर रिजेज नेपाल नामक संस्थाले उपलब्ध गराएको उक्त बस आइतवार बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।
संस्थाकी प्रमुख कार्यकारी अधिकारी साङ डोमा शेर्पाले एक कार्यक्रमका बीच उक्त बसको चावी गोरखा नगर प्रमुख कृष्ण रानालाई र रानाले बिद्यालयका प्रधानाध्यापक चुडामणी काप्रीलाई हस्तान्तरण गरेका हुन् ।
भन्सार छुट सहित २८ लाख ३३ हजारमा बस खरिद भएको बिद्यालयका प्रअ काप्रीले बताए । ‘भन्सार तिरेर ल्याउने हो भने यो गाडीको मूल्य ४८ लाख पर्ने रहेछ, तर भन्सार छुट भएकाले मूल्य कम प¥यो,’ उनले भने । बिमा शुल्क, दर्ता शुल्क, सिट कभर लगायतका अन्य काम सहित बसको मूल्य कुल २९ लाख ८५ हजार पर्न गएको उनले जानकारी दिए ।
उनका अनुसार यसअघि बिद्यालयले बस भाडामा लिएर बिद्यार्थी ओसार पसार गर्दै आएको थियो । अव भने बिद्यालयकै बसमा बिद्यार्थी ओसार पसार गराउन पाउने भन्दै उनले खुशी व्यक्त गरे । बार्षिक ब्लू बुक नविकरण गर्दा लाग्ने शुल्क गोरखा नगरपालिकाले तिर्ने प्रतिवद्धता जनाएको छ । दश बर्षसम्म नविकरण शुल्क तिरिदिने प्रतिवद्धता नगरपालिकाले गरेको हो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र बस्नेत अध्यक्षता तथा गोरखा नगरपालिका मेयर रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मसलीमाया थोकर, शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख सुवास आचार्य, गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का, बिद्यालयको गुणस्तर लेखाजोखा तथा सुपरिवेक्षण समिति अध्यक्ष शिव केसी, संस्थाकी प्रमुख कार्यकारी अधिकारी शेर्पा, बिद्यार्थी आरती गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
उक्त संस्थाले गोरखा नगरपालिकाको २० वटा सामुदायिक बिद्यालयमा दिवा खाजा परियोजना समेत लागू गरेको छ । उक्त कार्यक्रम अन्तरगत बिद्यार्थीलाई दिवा खाजाका लागी आर्थिक सहयोग गर्दै आएको संस्थाका जिल्ला संयोजक राजेश श्रेष्ठले बताए । ‘दिवा खाजाका लागी इसिडिदेखि कक्षा ५ सम्म नेपाल सरकारले प्रति बिद्यार्थी १५ रुपैया उपलब्ध गराउछ, हामीले त्यसमा प्रति बिद्यार्थी ५ रुपैया उपलब्ध गराउँदै आएका छौ,’ उनले भने, ‘कक्षा ६ देखि १० सम्मका बिद्यार्थीलाई भने हामीले प्रति बिद्यार्थी २० रुपैया दिने गरेका छौ ।’
सामुदायिक बिद्यालयका गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको श्रेष्ठले जानकारी दिए ।



































