१६ पुस, गोरखा । गोरखा नगरपालिका वडा नम्वर ११ मा लागू भएको रोजगार तथा पूर्वाधार कार्यक्रमलाई पहिलो गाँसमै ढुंगा लागेको छ । समिति गठनमा विवाद भएपछि कार्यक्रम अन्तरगत शुरु भएका कामहरु रोकिएका छन् ।
कार्यविधिलाई मिचेर समिति गठन गरेको भन्दै बिरोध भएपछि काम रोकिएको वडा सदस्य रेनकुमार थापा मगरले बताए । ‘समिति गठन गर्नु अघि नै हामीले वडाध्यक्षसँग कार्यविधि मागेको थिए,’ उनले भने, ‘तर उहाँले म सँग पनि छैन नगरपालिकामा छ भन्नुभयो, धमाधम समिति गठन भएर काम पनि शुरु भयो, पछि कार्यविधि हेर्दा कार्यविधिलाई मिचेर समिति गठन भएको पाएपछि समुदाय स्तरबाट पनि बिरोध आयो, हामीले पनि बिरोध जनायौ अनि काम रोकियो ।’
कार्यक्रम संचालनका लागी गोरखा नगरपालिकाले निर्माण गरेको रोजगार तथा पूर्वाधार कार्यविधि २०७९ अनुसार लाभान्वित टोलकै स्थानीयलाई समेटेर समिति निर्माण गर्नुपर्ने प्रावधान छ । तर लाभान्वित क्षेत्रभन्दा बाहिरका स्थानीय पनि समितिमा अटेपछि बिरोध भएको हो ।
उक्त कार्यक्रमका लागी एक करोड ७५ लाख ५० हजार रकम विनियोजन भइसकेको छ । नगरपालिकाबाट एक करोड र बाँकी रकम वडाबाट विनियोजन भएको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । ‘गोरेटो बाटो, सडक, खानेपानी, टोल बिकास भवन र फुटपाथ गरी पाँच वटा सेक्टरमा खर्च गर्ने भनेर नगर सभाबाट योजना बिनियोजन भएको छ,’ उनले भने ।
वडाभित्र गोरेटो बाटो निर्माण तथा स्तरोन्नतीका लागी २३ लाख, सडक स्तरोन्नतीका लागी ६० लाख, खानेपानी संरक्षण, मर्मत तथा निर्माणका लागी २० लाख, टोल बिकास भवन निर्माणका लागी २२ लाख र फुटपाथ निर्माणका लागी ४५ लाख छुट्याइएको छ । तर काम शुरु हुन नपाउँदै समिति गठनमा भएको विवादले काम अघि बढ्न सकेको छैन ।
विवाद भएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले पनि बताए । ‘विवाद भएर काम रोकिएपछि निर्देशक समितिको बैठक बसेर छलफल पनि भयो, काम अघि बढाउने भन्ने थियो तर म पनि केही दिन जिल्ला बाहिर भएकाले के भाछ अपडेट छैन,’ उनले भने ।
स्थानीयलाई रोजगार दिने भन्दै नगरपालिकाले उक्त वडामा पाइलोटिङको रुपमा यो कार्यक्रम लागू गरेको हो । तर समिति गठनमै विवाद भएपछि काम शुरु हुन नपाउँदै रोकिएको छ । कार्यविधि बिपरित समिति गठन भएपछि बिरोध भएको वडा सदस्य मगर बताउँछन् । सडक स्तरोन्नतीका लागी वडाध्यक्ष रामबहादुर खड्काले आफ्नै छोरालाई अध्यक्ष बनाएर समिति गठन गरेको भन्दै आलोचना पनि भएको छ । यस बिषयमा थप बुझ्न खोज्दा वडाध्यक्ष खड्काले फोन उठाएनन् ।



































