७ माघ, गोरखा । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याकंनमा जिल्लाका स्थानीय तहहरुमध्ये शहिदलखन गाउँपालिका पहिलो भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकनमा सो पालिकाले कुल ८७ प्रतिशत अंक प्राप्त गरेको छ ।
बिभिन्न १० सूचक (शासकिय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय) र १०० उपसूचकका आधारमा स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याकंन गर्ने गरिन्छ ।
स्वमूल्याकंनमा जिल्लाकै उत्कृष्ट बनेको शहीद लखनले दश सूचकमध्ये शासकिय प्रबन्धतर्फ शत प्रतिशत (९) अंक प्राप्त गरेको छ । संगठन तथा प्रशासन र न्यायिक कार्य सम्पादन तर्फपनि उक्त पालिकाले पूर्णाङ्क प्राप्त गरेको छ । कुल ११ पूर्णाङ्क रहेको वार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तीय एवं आर्थिक व्यवस्थापनमा क्रमश ८ र ९ अंक प्राप्त गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै कुल १६ पूर्णाङ्क रहेको सेवा प्रवाह तर्फ १५ र १३ पूर्णाङ्क रहेको भौतिक पूर्वाधार तर्फ ११ अकं पालिकाले प्राप्त गरेको छ । सामाजिक समावेशीकरण तर्फ १० मा ८ अंक, वातावरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ९ मा ७ र सहकार्य र समन्वय तर्फ कुल ६ अंकमा ५ अंक पालिकाले प्राप्त गरेको बताइएको छ ।
८६ प्रतिशत अंक प्राप्त गर्दै बारपाक सुलिकोट गाउँपालिका दोस्रो भएको छ । तोकिएका सूचकहरुमध्ये सो पालिकाले संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन र सहकार्य र समन्वय तर्फ शत प्रतिशत अंक प्राप्त गरेको छ ।
भीमसेन थापा गाउँपालिका ८४.५ प्रतिशत अंक ल्याएर तेस्रो बनेको छ । उक्त पालिकाले निर्धारित सूचकहरुमध्ये सामाजिक समावेशीकरणमा शत प्रतिशत अंक प्राप्त गरेको छ भने सवैभन्दा कम वित्तिय एवंम आर्थिक व्यवस्थापनमा कुल ११ अंकमा ८.२५ अंक प्राप्त गरेको छ ।
न्यायिक कार्य सम्पादन तर्फ शत प्रतिशत अंक ल्याएको पालुङटार नगरपालिकाले औसत ७९.२५ प्रतिशत अंक प्राप्त गरेको छ ।
स्वमूल्याकंनमा आरुघाट गाउँपालिकाले ७२ प्रतिशत, अजिरकोट गाउँपालिकाले ६७.२५ प्रतिशत र सिरानचोक गाउँपालिकाले ६६ प्रतिशत अंक प्राप्त गरेका छन् ।
भागौलिक हिसावले बिकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको स्वमूल्याकंनको प्रतिशत भने जिल्लाका अन्य स्थानीय तहको भन्दा कम देखिएको छ । तथ्याङ्क अनुसार उक्त पालिकाले ४८.२५ प्रतिशत मात्र अंक प्राप्त गरेको छ । सो पालिकाले शासकिय प्रबन्घतर्फ कुल ९ अंकमा ७.५, संगठन तथा प्रशासन तर्फ ८ मा ६, वार्षिक बजेट तथा योजना व्यवस्थापन तर्फ ११ मा ४.५, वित्तीय एवं आर्थिक व्यवस्थापन तर्फ ११ मा ६.५, सेवा प्रवाह तर्फ १६ मा ११, न्यायिक कार्य सम्पादन तर्फ ७ मा २.५, भौतिक पूर्वाधार तर्फ १३ मा २.५, सामाजिक समावेशीकरण तर्फ १० मा ३, वातावरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ९ मा ३ र सहकार्य र समन्वय तर्फ ६ मा १.७५ अंक प्राप्त गरेको हो ।
यता गोरखाको मुख्य बजार र सदरमुकाम क्षेत्र समेटिएको गोरखा नगरपालिकाको स्वमूल्याकंन प्रतिशत पनि निकै कम छ । बिकट मानिने चुमनुव्री सरह गोरखा नगरपालिकाले पनि ५० प्रतिशत मात्र अंक ल्याउन सफल भएको छ ।
संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा गोनपा निकै कमजोर देखिएको छ । सो नगरपालिकाले संगठन तथा प्रशासन तर्फ कुल ८ अंकमा ३.७५, वार्षिक बजेट तथा योजना व्यवस्थापन तर्फ ११ मा ३, सामाजिक समावेशीकरण तर्फ १० मा २.७५, वातावरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ९ मा ४ अंक प्राप्त गरेको छ ।
त्यस्तै वित्तीय एवं आर्थिक व्यवस्थापन तर्फ ११ मा ५.७५, सेवा प्रवाह तर्फ १६ मा ८.७५, न्यायिक कार्य सम्पादन तर्फ ७ मा ५, भौतिक पूर्वाधारतर्फ १३ मा ७ र सहकार्य र समन्वय तर्फ ६ मा ३ अंक प्राप्त गरेको तथ्याङ्कमा उल्लेख छ । शासकिय प्रबन्घतर्फ भने कुल ९ अङ्कमा ७ अंक प्राप्त गरेको छ ।
यता गण्डकी गाउँपािलकाको भने स्वमूल्याङ्कनको नजिता सार्वजनिक भएको छैन ।



































