१४ माघ, गोरखा । जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा सडक ट्रयाक खन्न विना अनुमति वन क्षेत्रमा डोजर चलाएको पाइएको छ । वडा नम्वर १ को ओग्रापौवा खोलादेखि लिस्याङवुङसम्म नयाँ ट्रयाक खन्न इप्चेना तथा सुनानपाखा सामुदायिक वन क्षेत्रमा डोजर चलाएको पाइएको हो ।
विना अनुमति वन क्षेत्रमा डोजर चलेको थाहा पाएपछि डिभिजन वन कार्यालयको टोलीले सोमवार सो क्षेत्रको स्थलगत निरिक्षण गरी काम रोक्न निर्देशन दिएको छ । ‘३०–४० मिटर ट्रयाक खनिसकेको रहेछ, त्यो आवधिककै छेउछाउ देखिन्छ,’ बारपाक सव–डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सिर्मलले भने, ‘अव वन क्षेत्रको जग्गा खन्न शुरु भएको रहेछ, हामीले रोक्न लगायौ ।’ कानून अनुसार मात्र अघि बढ्न भन्दै सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिलाई पत्राचार समेत गरिएको उनले जानकारी दिए ।
यो बर्ष पालिकाले दश लाख रकम विनियोजन गरेको उक्त योजनामा गत बर्ष पनि १५ लाख रकम विनियोजन भएको थियो । तर वन क्षेत्र परकै कारण काम हुन सकेको थिएन । ‘गत बर्ष वन क्षेत्र वाहेकको करिव पाँच सय मिटर क्षेत्रमा काम भयो, त्यसपछि भएन,’ पालिकाका इन्जिनियर अभिनव गौतमले भने, ‘त्यही योजनामा अहिले फेरी रकम विनियोजन भएको हो ।’
नेपाल सरकारको निर्णय वा स्वीकृती विना वन क्षेत्रमा कुनै पनि योजना संचालन गर्न नपाइने डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । तर पालिकाले विना अनुमति वन क्षेत्र मास्दै नयाँ ट्रयाक खोलिरहेको छ । तर कार्यालयलाई जानकारी समेत नआएको पौडेल बताउँछन् ।
वडाध्यक्ष धनबहादुर घलेले भने सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिसँग अनुमति लिएको बताए । ‘उहाहरुसँग सहमति गराएर हामीले निर्णय गरेर काम अघि बढाएका हौ, त्यो क्षेत्र वनको परेपनि खासै रुखहरु छैनन्, कु–काठहरु मात्र पर्छन्,’ उनले भने ।
तर वन अधिकृत सिर्मलले सामुदायिक वन उपभोक्ता समितिको अनुमतिले वन क्षेत्रमा योजना संचालन गर्न नपाइने बताए ।
कृषि सडकको नाम दिइएको उक्त योजनाले वन क्षेत्रको करिव डेढ सय रुख मासिने अनुमान गरिएको छ । तर विना अनुमति वन क्षेत्र मास्दै ट्रयाक खोल्ने काम भएको हो ।
‘गत बर्षपनि हामीले हुदैन भनेर रोक्यौ तर अहिले नयाँ समिति गठन गरेर हामीसँग समन्वय नगरी काम अघि बढायो, अनुमति लिनुपर्छ भन्दा बिनाश विना बिकास हुदैँन भनेर जवरजस्ती गर्नुभयो,’ कार्यालयका एक कर्मचारीले भने । उक्त ट्रयाक खन्दा सो क्षेत्रमा रहेको ऐतिहासिक झरनामा समेत असर पर्ने उनको भनाइ छ ।



































