१४ माघ, गोरखा । सडक निर्माणका लागी भन्दै जिल्लामा थप ५० करोड रकम विनियोजन भएको छ । यस बर्ष ठेक्का लागेको चार वटा सडकखण्ड र निर्वाचन क्षेत्र सडकका लागी अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले थप रकम विनियोजन गरेको हो ।
भिमसेन थापाको धावा–कोयाभन्ज्याङ हुदैँ वडा नम्वर ४ र २ जोड्ने सडक, शहिदलखन गाउँपालिकाको रामशाहघाट–मनकामना बजार–जुम्लीचौतारा–तिनमाने सडक, बिमलनगरदेखि पालुङटारको पौवाटार–ठाटीपोखरी–केरावारी–दुधपोखरी सडक र पालुङटारको सातदोवाटो–जोगिडी–बागडाँडा–पन्थिनी–गाईखुर सडकका लागी १०÷१० करोड रकम थप भएर आएको गोरखा सडक योजना कार्यालयले जनाएको छ । ‘यी योजनाका लागी हामीले २० करोडका दरले रकम माग गरेका थियौ,’ कार्यालय प्रमुख अमिन्द्र खड्काले भने, ‘तर ५ करोडका दरले मात्र रकम विनियोजन भएको थियो ।’
एक बर्षमा काम सक्ने गरी यी योजनाहरु ठेक्का लागिसकेको बताउँदै उनले थपे, ‘अव यी योजना बहुबर्षियमा जान्छन्, अहिले ठेक्का लागेको बाहेकका ठाउँमा तत्काल अर्काे ठेक्का खोलेर कामको प्रक्रिया अघि बढाउछौ ।’ उक्त रकमबाट चार वटै योजनाको करिव तीन किलोमिटरका दरले सडक कालोपत्रे हुने उनले जानकारी दिए । दुवै निर्वाचन क्षेत्रका दुई÷दुई योजनामा बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निर्वाचन क्षेत्र सडकका लागी पनि थप दश करोड रकम विनियोजन भएको छ । निर्वाचन क्षेत्रका दुई सडक योजनाका लागी पाँच करोडका दरले थप रकम विनियोजन भएको कार्यालय प्रमुख खड्काले बताए । रकम अभावका कारण देखाउँदै कार्यालयले भुक्तानी नदिदाँ निर्माण कम्पनीले काम रोक्दै आएका छन् ।
गोरखा निर्वाचन क्षेत्र नम्वर १ अन्तरगतको गण्डकी गाउँपालिका–५ दर्वुङफाट देखि लाकुरीबोट हुँदै दलभन्ज्याङसम्मको सडक कालोपत्रेको जिम्मा पाएको रायमाझी नवकान्तिपुर जेभीले करिव दुई करोड रकम भुक्तानी लिन बाँकी रहेको छ । रकम नपाएपछि करिव ६ महिनादेखि काम हुन सकेको छैन । उक्त सडक कालोपत्रेका लागी २०७९ असार १० गते सम्झौता भएको हो । दुई बर्षमा काम सक्ने गरी सम्झौता भएपनि हालसम्म ५२ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । कुल नौ किलोमिटर सडक कालोपत्रेका लागी २४ करोड ८२ लाख मा ठेक्का सम्झौता भएको हो ।
यता निर्वाचन क्षेत्र नम्वर २ अन्तरगत घ्याम्पेशाल ताकुकोट हुडिखोला स्वाँरा सौरपानी रन्चोक पोखरी हुदै बारपाक सडक स्तरोन्नतीको जिम्मा पाएको पिआर÷नाना रिनाइसेन्स जेभीले यो बर्ष बजेट सुनिश्चित नभएका कारण काम गर्न अन्योल भएको बताउँदै आएको थियो । उक्त सडक स्तरोन्नतीका लागी २०७९ असार ९ गते सम्झौता भएको हो । कामको भुक्तानी नपाएकै कारण निर्माण व्यवसायीले कामलाई द्रुत रुपमा अघि बढाउन सकेको छैन । दुई बर्षमा सक्नुपर्ने उक्त योजनाको हालसम्म २२ प्रतिशत मात्र भौतिक प्रगति छ । कार्यालयका अनुसार २५ करोड ८४ लाखमा ठेक्का सम्झौता भएको हो ।
भुक्तानी दिन नसक्दा काम हुन नसकेको बताउँदै आएका कार्यालय प्रमुख खड्काले अव भने कामले गति लिने अपेक्षा गरेका छन् । ‘थप रकम विनियोजन भएको छ, अव निर्माण कम्पनीलाई भुक्तानी पनि दिन्छौ, काम पनि तिव्र गतिमा अघि बढाउन भन्छौ,’ उनले भने ।



































