२४ माघ, गोरखा । यो बर्ष गोरखामा सुन्तला उत्पादन घटेको छ । गत बर्षको तुलनामा करिव तीन सय मेट्रिक टन कम उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई गोरखाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत बर्ष १९ सय मेट्रिक टन उत्पादन भएको थियो । तर यो बर्ष १६ सय मेट्रिक टन मात्र उत्पादन भएको छ ।
उत्पादन घटे पनि आर्थिक कारोवारमा भने धेरै भिन्नता नरहेको कार्यालयका सूचना अधिकारी रविन्द्र पौडेलले बताए । ‘यो बर्ष करिव ६ करोडको कारोवार भयो, गत बर्ष साढेँ ६ करोड थियो,’ उनले भने, ‘यो बर्ष मूल्य बढेकाले उत्पादन घटे पनि आर्थिक कारोवारमा खासै धेरै भिन्नता देखिएन ।’ यो बर्ष किसानहरुले प्रति केजी ६५ देखि १२० रुपैयासम्म सुन्तला बिक्री गरेका छन् ।
गण्डकी गाउँपालिका–२ ताङ्लीचोकस्थित सुन्तला उत्पादक कृषि सहकारी संस्थाले पनि यो बर्ष उत्पादन घटेको बताएको छ । सुन्तला बेचेर एक करोडको कारोवार गर्ने यस संस्थाले यो बर्ष ५२ लाख मात्र कारोवार गरेको छ । पुराना बोटहरु काटेर नयाँ बिरुवा लगाइएका कारण पनि यो बर्ष उत्पादन घटेको संस्थाका अध्यक्ष एकबहादुर थापाले बताए । ‘पुरानो बोट मासेर करिव दुई सय नयाँ बिरुवा लगाएका छौ, त्यसमा फल्न थालेपछि उत्पादन बढ्छ,’ उनले भने ।
उत्पादन घट्नुमा बिविध कारण रहेको कार्यालयका सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘एक त बोटहरुमा लाग्ने रोग भइहाल्यो, अर्काे गाइवस्तुको मल पाउनै छाड्यो, फेरी हिउँदमा खडेरी परेका कारणले पनि सिंचाइको अभाव भयो । यी कारणहरुले उत्पादन घटेको हो ।’ पुरानो बगैचा व्यवस्थापनका लागी पुराना रुखहरु काटेकाले पनि उत्पादनमा ह्रास आएको उनको भनाइ छ ।
उत्पादन बढाउन बगैचा व्यवस्थापन र चक्लावन्दी
सुन्तलाको उत्पादन बढाउन कार्यालयले पुरानो बगैचा व्यवस्थापन कार्यक्रम लागू गर्दै आएको छ । जस अन्तरगत सुक्ष्म तत्व, रोगनासक बिषादी, प्राङ्गारिक मल लगायतमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख पूर्ण ढुंगानाले बताइन् । त्यस्तै पुराना बोट काटेर नयाँ रोप्नेलाई प्रति विरुवा एक सय रुपैयाका दरले अनुदान रकम उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् ।
‘नमूना बगैचा स्थापना कार्यक्रम पनि संचालन गर्दै आएका छौ,’ उनले भनिन्, ‘न्यूनतम दश रोपनी जग्गामा कम्तिमा दुई सय विरुवा सुन्तलाजात फलफुल (सुन्तला र कागती) रोप्ने किसानलाई बिरुवा र कृषि उपकरणमा ५० र सिंचाईमा ८५ प्रतिशत अनुदान दिदैँ आएका छौ ।’ गत बर्ष जिल्लाको २३ वटा ठाउँमा नमूना वगैचा कार्यक्रम लागू भएको उनले बताइन् । उक्त कार्यक्रमका लागी १५ लाख रकम विनियोजन भएको थियो । यो बर्ष २१ लाख विनियोजन भएको कार्यालयले जनाएको छ ।
चक्लावन्दी कार्यक्रमलाई पनि कार्यालयले निरन्तरता दिइरहेको छ । गत बर्ष १२ ठाउँमा चक्लावन्दी कार्यक्रम लागू भएको कार्यालय प्रमुख ढुंगानाले बताइन् । ‘चक्लावन्दी गरेर सुन्तला, कागती र किवीको बिरुवा लगाइएको छ, किसानलाई बिरुवा र कृषि उपकरण खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएका छौ,’ उनले भनिन् । गत बर्ष ८० लाख रकम विनियोजन भएको यस कार्यक्रमका लागी यो बर्ष ६० लाख विनियोजन भएको छ ।
सुन्तला जिल्लाको गण्डकी, भीमसेन थापा र शहिद लखन गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकामा फल्ने गर्छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र शहीद लखनको मनकामना, ताक्लुङ, मास्केछाप, तिनमाने, अधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ ।
त्यस्तै भीमसेन थापाको तान्द्राङ, पालुङटारको बाघडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टवेशीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ । जिल्लाको करिव ८ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको कार्यालयले जनाएको छ ।



































