२८ माघ, गोरखा । गोरखा अस्पतालले पित्तथैलीको ल्याप्रोसकोपी सर्जरी सेवा शुरु गरेको छ । शुक्रवारबाट उक्त सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
पहिलो दिन तीन जनाको सफल शल्यक्रिया समेत गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सिदार्थ खनालले बताए । यसअघि आवश्यक उपकरण नभएर सेवा शुरु गर्न सकेका थिएनौ,’ उनले भने, ‘ल्याप्रोसकोपी मेसिन आएपछि सेवा शुरु गरेका हौ ।’ मेसिन खरिदका लागी निक साइमन्स इन्स्टिच्यूटले पनि सहयोग गरेको उनले जानकारी दिए ।
अव उक्त सेवाले निरन्तरता पाउने बताउँदै उनले थपे, ‘हरेक साताको शुक्रवार र शनिवार पित्तथैलीको ल्याप्रोसकोपी सर्जरी गर्ने भन्ने तयारी गरिरहेका छौ, बिरामीहरुको फ्लो अनुसार पनि निर्धारण गर्छाै ।’ हाल भएको जनशक्ति अनुसार एक दिनमा चार जनासम्मको शल्यक्रिया गर्न सकिने बताइएको छ ।
जिल्लामै पित्तथैलीको ल्याप्रोसकोपी सर्जरी शुरु भएपछि यो सेवाका लागी अन्य जिल्ला धाउनुपर्ने बाध्यता नरहेको अस्पतालले जनाएको छ । ‘यसअघि बाहिरी जिल्लाका संस्थामा रिफर गर्नुपथ्र्यो, अव यही अस्पतालमा यो सेवा शुरु भयो, बिरामीलाई पनि धेरै सहज हुने भयो,’ अस्पतालका निमित्त सुपरिटेण्डेन्ट खनालले भने ।
के हो ल्याप्रोसकोपी सर्जरी
बरिष्ठ स्वास्थ्य सहायक कृष्ण ढकालका अनुसार ल्याप्रोसकोपी सर्जरी भनेर शरिरको भाग नचिरी सानो प्वाल बनाएर गरिने अप्रेशन हो ।
‘यो अप्रेशन गर्दा शरिरको भाग चिर्नु पर्देन, तीन चार वटा साना प्वाल बनाएर स्क्रीनमा हेरी अप्रेशन गरिन्छ, यो बिधिबाट अप्रेशन भएका बिरामीहरुलाई चाडै डिस्चार्ज गर्न मिल्छ, अप्रेशन गरेका भागमा दागहरु पनि बस्दैन,’ उनले भने ।
अन्य जिल्लामा यो सेवा शुरु भइसकेपनि जिल्लाका लागी पनि नयाँ रहेको उनले बताए ।



































