फागुन १९, गोरखा । परापुर्व कालदेखि गर्दै आएको मकै विवाह लाप्राकीले यस बर्ष पनि सम्पन्न गरेका छन् । शनिवार धुमधामका साथ मकै विवाह सम्पन्न गरिएको हो । बिहे नगरी मकै रोप्नु हुन्न भन्ने धार्मिक र साँस्कृतिक मान्यता अनुसार मकै विवाह गरिएको स्थानीय प्रसाद गुरुङले बताए ।
‘मकैको बिहे गरेपछि मात्र बारीमा मकै रोप्ने काम सुरु हुन्छ’, उनले भने, ‘मकैको उब्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस भनेर मकै विवाह गर्ने प्रचलन छ ।’ उनका अनुसार शनिवार लाप्राकका गाउँले सबै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका हुन् ।
गाउँले सबै मकैको जन्ती गएर मकैको भोज भतेर खादैँ नाँचगाँन समेत गरेका थिए ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ । प्रकृति पुजक यहाँका बोन धर्मावलम्बीहरु मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ ।
विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलोआँगनमा जम्मा हुन्छन् । अनि सिंगारेर एकजना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित जन्ती जाने गर्छन् । ठूलो आँगनबाट मनिडाँडा हुदै केही पर जंगलमा बेहुली घरका रुपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ ।
जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् । जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोप्ने गुरुङले बताए ।
बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै विहे समापन हुने उनले जानकारी दिए । ‘यो पुरानो परम्परा हो, यसरी मकैको विहे गरेपछि बल्ल मकै लगाउन सुरु हुन्छ ।
विहे नगरी मकै लगाउदा अशुभ हुन्छ भन्ने मान्यता छ’, उनले भने, ‘‘यो एउटा प्राकृतिक पूजा हो, वर्षेनी माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’ ।



































