१ चैत्र, गोरखा । भक्तजनलाई लक्षित गर्दै मनकामना मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण भएको छ । ८४ लाख खर्च गरेर शौचालय निर्माण गरिएको मनकामना क्षेत्र बिकास समितिले जनाएको छ । मन्दिर नजिकै रहेको चापको बोटबाट पुर्व पट्टी शौचालय निर्माण भएको समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए ।
‘महिला, पुरुषका लागी छुट्टाछुट्टै शौचालय छ,’ उनले भने, ‘करिव १६ सय वर्ग फिट फराकिलो उक्त शौचालय अपाङ्गमैत्री पनि छ ।’ त्यस्तै समितिले ९६ लाख ४४ हजार रकम खर्चेर परेवापाटी पनि बनाएको छ । मनकामना क्षेत्र बिकास समितिको पुरानो भवन भत्काएर सोही ठाउँमा परेवापाटी निर्माण गरिएको गुरुङले जानकारी दिए । समिति, भक्तजन र नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण भएको शौचालय र परेवापाटी गुठी संस्थानलाई हस्तान्तरण गरिएको छ ।
बुधवार एक कार्यक्रमका बीच संस्थानका अध्यक्ष डा. शिवराज पण्डित र प्रशासक किरण शाक्य मार्फत संस्थानलाई निर्माण भएको संरचना हस्तान्तरण गरिएको हो । ‘‘२०७८÷७९ मा शौचालय र २०७९÷८० मा परेवापाटी निर्माण भएको हो । गत पुष २९ गते क्षेत्र बिकास समितिको बैठक बसेर गुठी संस्थानलाई हस्तान्तरण गर्ने निर्णय गरेका थियौ, सोही निर्णय अनुसार आज हस्तान्तरण ग¥यौ,’ समिति कार्यकारी निर्देशक गुरुङले भने । मनकामना क्षेत्रको बृहत्तर गुरुयोजना अन्तरगत उक्त संरचनाहरु निर्माण भएको बताइएको छ ।
त्यस्तै समितिले मनकामना परिसरमा धर्मशाला निर्माण गर्न लागेको छ । हाल रहेको धर्मशालाको पुरानो संरचनालाई भत्काएर नयाँ बनाउन लागिएको समितिले जनाएको छ । भवनको बुधवार एक कार्यक्रमका बीच शिलन्यास गरिएको छ । संस्थानका अध्यक्ष पाण्डेले भवनको शिलन्यास गरेका हुन् ।
भवन निर्माणका लागी एक करोड ६४ लाख लाग्ने प्रारम्भिक अनुमान गरेपनि लागत बढ्ने अनुमान गरिएको छ । क्षेत्र बिकास समिति , गुठी संस्थान र भक्तजनहरुको सहयोगमा सम्पदामैत्री संरचना बन्ने बताइएको छ । ‘भवनको भुई तलामा शत्तल हुन्छ र भक्तजनहरु बस्ने ठाउँ हुन्छ, माथिल्लो तला गुठी संस्थानले भाडामा पनि लगाउन सक्छ,’ गुरुङले भने ।



































