९ चैत्र, गोरखा । भिमसेन थापा गाउँपालिका–८ घाटवेशी र वडा नम्वर ४ बालिमटार जोड्ेन तान्द्राङ खोलामाथि बेलिब्रिज निर्माण भएको छ । बेनिघाट आरुघाट लार्के सडकखण्ड अन्तरगत पर्ने उक्त खोलामाथि २४.४ मिटर लम्वाईको बेलिब्रिज निर्माण भएको हो ।
पुल निर्माणका लागी जलप होम जेभीसँग २०८० साल मंसिर १५ गते सम्झौता भएको गोरखा सडक योजनाले जनाएको छ । एक बर्षमा काम सक्नुपर्ने भएपनि चार महिनामै काम सम्पन्न भएको कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले बताए । पुलसँगै वारीपारी ५०÷५० मिटर ‘एप्रोच रोड’ समेत निर्माण भएको उनले जानकारी दिए ।
योजनाको कुल लागत ३ करोड ८९ लाख ८३ हजार (भ्याट सहित) रहेको कार्यालयले जनाएको छ । यसअघि पक्की पुलको डिपिआर भएपनि बुढीगण्डकी आयोजना डुवानका कारण बेलिब्रिज निर्माण गरिएको इन्जिनियर श्रेष्ठले बताए । ‘पहिले पक्की पुलकै डिपिआर तयार भएको थियो, तर बुढीगण्डकी आयोजना डुवान क्षेत्रमा पर्ने भएकाले बेलिब्रिज हालेको हो । डुवान नहुदाँसम्म यही पुलले काम गर्छ, डुवान हुने बेला निकाल्न मिल्छ,’ उनले भने ।
उक्त पुलबाट भीमसेन थापा, आरुघाट, धार्चे, चुमनुव्री सँगै धादिङ जिल्लाका स्थानीय समेत लाभान्वित हुने बताइएको छ । गोरखाको सो क्षेत्रमा उत्पादित कृषि उपजको बजार व्यवस्थापनका लागी वेनिघाट, काठमाण्डौ लगायतका ठाउँमा लैजान समेत सहज हुने अपेक्षा गरिएको छ ।



































