२४ बैशाख, गोरखा । छाना नभएको मन्दिर भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर सिरानचोक गाउँपालिका–५ कटहरबारीमा बिनाछानाको सुनसरी जलेश्वरी देवीको मन्दिर छ । उक्त मन्दिरमा हालसम्म छाना छाइएको छैन । मन्दिरको माथिल्लो भाग खुल्लै छाडिएको छ ।
मन्दिरभित्रै पशुबली दिने भएकाले छाना नछाइएको पुजारी गोलबहादुर बरामले बताए । ‘यहाँ मन्दिरभित्रै पशुबली दिइने भएकाले छाना छाउन हुन्न भन्ने मान्यता छ,’ उनले भने, ‘त्यसैले मन्दिरको माथिल्लो भाग खुल्ला राखिएको हो ।’ उनका अनुसार २०६५ सालअघिसम्म मन्दिरको संरचना बनेको थिएन । सोही स्थानमा रहेको ठुलो ढुंगामुनि देवीको मूर्ति राखेर पुजाआजा हुने गथ्र्याे ।
२०६५ सालमा मन्दिरमा संकलन भएको भेटी र तत्कालिन छोप्राक गाविसबाट विनियोजित केही रकमले मन्दिर निर्माण गरियो । तर छाना छाउन नहुने धार्मिक मान्यता रहेकाले माथिल्लो भाग खुल्लै छाडिएको छ ।
उक्त मन्दिरमा बर्षको एक पटक मेला लाग्ने बरामले बताए । ‘कात्तिक/मंसिरमा पर्ने ठूलो एकादशीको भोलिपल्ट यहाँ ठूलो मेला लाग्छ, पाठीको भोग पनि दिइन्छ,’ उनले भने, ‘स्थानीय रुपमा सगरमाथा आमा समूह भन्ने छ, उनीहरुले अनिवार्य एउटा पाठीको भोग दिनुपर्छ, बाँकी अरु स्थानीयले व्यक्तिगत रुपमा पाठीको भोग दिन ल्याउनुहुन्छ ।’ सो दिन करिव ४० देखि ५० वटा पाठीको बली चढ्ने गरेको उनले जानकारी दिए ।
अहिले मन्दिर वरपर घेरापर्खाल निर्माणको काम भइरहेको छ । वडाबाट विनियोजित चार लाख बजेटले काम सुरु गरिएको वडा सदस्य समेत रहेका मन्दिरका पुजारी बरामले बताए । ‘मन्दिरको चारैतर्फ पर्खाल लगाएर गेट हाल्ने र यो पटक मन्दिरमा छाना छाउने काम पनि गर्ने भन्ने छ,’ उनले भने । पशुवली दिने ठाउँमा मन्दिर बाहिर बनाएर छाना छाउन लागिएको उनले जानकारी दिए ।
‘पहिले भित्रै काटमार हुने भएकाले छाना छाउन हुन्न भन्ने थियो, अहिले भोग दिने ठाउँ बाहिर बनाएका छौ, त्यसैले छाना छाउन लागेका हौँ,’ उनले भने । उक्त मन्दिरमा पशु बली दिएर पुजापाठ गरे मनले चिताएको पुग्ने र सम्पत्ति आर्जन हुने धार्मिक विश्वास रहेको छ ।



































