२६ बैशाख, गोरखा । मनास्लु क्षेत्रमा पहिलो पटक हिमचितुवाको गणना भएको छ । ग्लोवल चेन्ज रिसर्च इन्स्टिच्यूट अफ चेक एकेडेमी साइन्सका डा. बिक्रम श्रेष्ठ नेतृत्वको टोलि सो क्षेत्र पुगेर चितुवाको गणना गरेका हुन् ।
करिव तीन बर्ष लगाएर गरिएको गणना अनुसार सो क्षेत्रमा १५ भन्दा बढी हिमचितुवा रहेको उनीहरुको निष्कर्ष छ । चुम र नुव्री भ्यालीमा १३ वटा वयस्क र २ वटा बच्चा गणना भएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मनास्लु क्षेत्रमा भेटिएका चितुवा लोपन्मुख प्रजातिका हुन् । यी नेपालसहित एसियाको १२ वटा देशमा मात्र पाइन्छन् ।
नुव्री भ्यालीमा सन् २०२० नोभेम्वर देखि २०२१ जनवरीसम्म हिमचितुवाको गणना गरिएको थियो । चुमभ्यालीमा भने २०२१ डिसेम्वरदेखि २०२२ फेव्रेअरीसम्म गणना भएको थियो । गणनाका लागी उनीहरुले चुम र नुव्री दुवैतर्फ ६०÷६० वटा क्यामेरा जडान गरेका थिए ।
कुल ६ सय वर्ग किलोमिटरसम्म कभर हुने गरी क्यामेरा जडान भएको श्रेष्ठले जानकारी दिए । ‘२५ सय देखि ५ हजारसम्म को हाइट भएको ठाउँमा क्यामेरा जडान गरेका थियौ,’ उनले भने । उनका अनुसार चुमभ्याली तर्फ चुम्लिङदेखि मु गुम्वा–कालुङ र नुव्रीतर्फ बिहीदेखि साम्दोसम्म क्यामेरा जडान भएको थियो ।
उनका अनुसार यसभन्दा अगाडी सो क्षेत्रमा हिमचितुवाको गणना भएको थिएन । १५ वटा चितुवाको संख्यालाई उनले सन्तोषजनक मानेका छन् । ‘अन्नपूर्ण र लाङटाङको करिडर क्षेत्र मनास्लु भएकाले पनि यहाँ हिमचितुवाको गणना हुनु आवश्यक थियो,’ उनले भने, ‘त्यसैले हामीले यो काम गरेका हौ ।’
उनका अनुसार अनुसन्धान गरेर डाटा संकलनको काम सकिएको छ ।
बिश्लेषण गरेर प्रतिवेदन तयार गर्ने काम भने बाँकी छ । दुई महिनाभित्र प्रतिवेदन तयार हुने उनले जानकारी दिए । ‘हिमचितुवाको बासस्थान र आहार प्रजातिलाई जोगाउनुपर्ने देखियो, नत्र यो प्रजातिको चितुवा लोप भएर जान्छ,’ उनले भने ।



































