६ जेठ, गोरखा । भिमसेनथापा गाउँपालिकाले नगर प्रहरी राख्ने प्रक्रिया अघि बढाएको छ । एक जना नगर प्रहरी सहायक निरिक्षक, दुई जना नगर प्रहरी हवल्दार र ६ जना नगर प्रहरी जवान राख्न लागिएको पालिकाले जनाएको छ । सूचना प्रकाशित गरेर भर्ना छनोटको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।
‘शारीरिक तन्दुरुस्ती परिक्षण गरेर पास हुनेहरुको नाम सार्वजनिक गरिसक्यौ,’ उनले भने, ‘अव लिखित परिक्षा हुन्छ, त्यसमा उत्र्तिण भएपछि अन्तरवार्ता हुन्छ ।’ जेठ मसान्तसम्म छनोट गरेर काममा खटाइसक्ने उनले जानकारी दिए ।
छनोटका लागी प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय पदपूर्ती समिति गठन भएको छ । समितिको सदस्यमा नेपाल प्रहरीको अधिकृत स्तरको कर्मचारी र सदस्य सचिवको रुपमा पालिकाको प्रशासन शाखा प्रमुख छन् । भिमसेनथापा गाउँपािलकाको नगर प्रहरी संचालन तथा व्यवस्थापन कार्यविधि २०८० अनुसार भर्ना छनोटको काम भइरहेको अधिकारीले बताए । उनका अनुसार नेपाल प्रहरीको समन्वय र सहकार्यमा नगर प्रहरीको भर्ना छनोटको काम भइरहेको छ ।
नगर प्रहरीले घाँटहरुमा भइरहेको अवैध उत्खनन र चोरी निकासी रोकथाम गर्ने, बजार अनुगमन गर्ने र न्यायिक समितिको निर्णय कार्यान्वयनमा सघाउ पु¥याउने अधिकारीले बताए । ‘विपदको समयमा उद्धार र कार्यालयको सुरक्षा पनि उहाँहरुले गर्नुहुन्छ, नगर प्रहरीलाई बिकास कार्यदलको रुपमा बिकास गर्ने भन्ने लक्ष्य हो,’ उनले भने ।
नगर प्रहरीको माग गर्दै पालिकाले प्रकाशन गरेको सूचनाको आधारमा कुल ३१ जनाको आवेदन परेको थियो । उनीहरुबाट नौ जना छनोट हुने छन् ।
पालिकाकै आन्तरिक स्रोतबाट उनीहरुलाई तलवको व्यवस्था हुने छ । गाउँकार्यपालिकाले तोके अनुसारको सेवा सुविधा उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।



































