६ जेठ, गोरखा । इकाइ खारेज गरेर कम्पनी स्थापना भएपछि बूढीगण्डकी जलविद्युत आयोजनाले गति लिन्छ कि भन्ने आशामा बसेका प्रभावित क्षेत्रका बासिन्दा काम ठप्प भएपछि झन् चिन्तित भएका छन् । शनिवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनीहरुले चालु आर्थिक बर्ष आयोजनाको कुनै पनि काम अघि नबढेको बताए ।
‘प्रधानमन्त्रीले ३ साउन २०८० मा बूढीगण्डकी जलबिद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरेपछि यो आयोजना निर्माण अघि बढ्छ भन्ने आम आशा थियो,’ बूढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले भने, ‘सरकारले चालु आर्थिक बर्षमा आयोजना मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना इकाइ खारेज गरेर बूढीगण्डकी जलबिद्युत कम्पनी स्थापना गरेपछि आयोजनाको काम ठप्प छ ।’ हालसम्म कम्पनीमा कर्मचारी नियुक्त नभएको र प्रमुख कार्यकारी अधिकृत काठमाडौं बस्दै आएकाले फिल्ड कार्यालयबाट कुनै पनि काम हुन नसकेको उनले बताए ।
काम नहुँदा आयोजनाको लागी चालु आव विनियोजित एक अर्व रुपैया पनि खर्च हुन नसकेको भन्दै उनले असन्तुष्टी जनाए ।
दर्ता छुट भएका जग्गा, ऐलानी जग्गामा बसोवास गर्ने र अर्काको जग्गामा घरटहरा बनाएर बसोबास गर्नेहरुलाई प्रक्रिया पु¥याएर मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका छन् । पुनर्वास तथा पुनस्र्थापनाको काम सुरु गरेर आयोजना अघि बढाउन उनीहरुले आग्रह समेत गरेका छन् ।
आयोजनाको नाममा पेट्रोलियम पदार्थबाट उठाइने कर (प्रति लिटर ५ रुपैया) आयोजनाको खातामा नराखी अन्यत्र खर्च गरिएको प्रति उनीहरुले आपत्ति जनाएका छन् । हरेक बर्षको नीति तथा कार्यक्रममा समावेश गरेपनि आयोजना निर्माणको काम भने हुन नसकेको भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।
‘गत बर्ष पनि नीति तथा कार्यक्रममा समावेश भएको थियो तर काम भएन, यो बर्ष पनि समावेश गरेको छ तर काम नहुन सक्ने सम्भावना छ,’ आयोजना प्रभावित बिष्णुप्रसाद अम्गाइले भने, ‘यस्तै हो भने सरकारले राखेको हाम्रो लालपुर्जा हामीलाई फिर्ता दिनुप¥यो ।’
प्रभावितहरुको माग पूरा नभए धर्ना, घेराउ, प्रदर्शन जस्ता कार्यक्रमलाई निरन्तरता दिने उनीहरुको चेतावनी छ ।



































