६ असार, गोरखा । सिरानचोक गाउँपालिका–४ चोरकाटेका भेषबहादुर कुमाल आफ्नो बाउबाजेले सेरामिक्स (माटोका भाँडाकुँडा) बनाउने काम गरेको कहिल्यै थाहा पाएनन् । जिजुबाजेको पालासम्म बन्थ्यो भन्ने सुनेका उनी आफै पनि आफ्नो पुख्र्याैली पेशामा कहिल्यै संलग्न भएनन् ।
तर जव गाउँमा मोटोका भाँडा बनाउने तालिम आयो उनी तालिम लिन आँतुर देखिए । ४५ दिनसम्म तालिममा सहभागी भए । अहिले नयाँ ज्ञान सिपका साथ सेरामिक्स (माटोको भाडा) उद्योग खोल्ने हुटहुटी उनमा जागेको छ । उनीसँगै तालिम लिएका सूर्यबहादुर कुमाल पनि उनलाई साथ दिन तम्तयार छन् । पुख्र्याैली पेशालाई नै आयआर्जनको स्रोत बनाउन उनीहरु जुटेका छन् । ‘कुमाल जातीको पहिचान दिने नै माटोको भाँडा भन्छन्,’ उनले भने, ‘फेरी हाम्रो पुख्र्याैली पेशा पनि यही भएकाले सिप सिक्न तालिम लिएको हुँ ।’ माटोको भाँडाकुँडा बनाउने उद्योग संचालन गर्ने योजना रहेको उनले सुनाए ।
‘चोरकाटे माटोको भाँडाकुँडाका लागी प्रख्यात भएपनि यहाँका स्थानीय कुमाल समुदायले कहिल्यै बनाएको थाहा पाइएन, बरु भक्तपुरबाट आएका प्रजापतीहरुले यहाँ धेरै माटोको भाँडाकुँडा बनाएर बेचे, पैसा पनि कमाए,’ उनले भने । तालिममा सहभागी सबै मिलेर उद्योग खोल्नका लागी तयारी थाल्ने उनले जानकारी गराए । ‘सम्भव भए तालिममा सहभागी सबै मिलेर उद्योग खोल्छौ, नभए जति जना जोडिन चाहनुहुन्छ उहाँहरुलाई मिसाएर काम अघि बढाउछौ,’ उनले भने ।

उनीहरुसहित चोरकाटेका कुमाल समुदायलाई लक्षित गरि माटोको भाँडा बनाउने तालिम संचालन भएको थियो । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगत संचालन भएको तालिममा ४० जना सहभागी थिए । ४५ दिनसम्म चलेको तालिममा कालो माटोको पाला, गमला, कचौरा, कप, खुत्रुके, सुराइ, मूर्ति, धुपौरो, ठेकी, हाडी लगायतका सामग्री बनाउन सिकाइएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।
सोमवार तालिमको समापन कार्यक्रममा बोल्दै उनले उत्पादीत माटोको भाँडाकुँडाको बजार व्यवस्थापनमा पालिकाले सहजिकरण गर्ने प्रतिवद्धता जनाए । ‘चोरकाटेमा करिव दुइ सय घरधुरी कुमाल समुदाय छन्, उनीहरुको पुख्र्याैली पेशा जर्गेना गर्न हामीले यो तालिम ल्याएका हौ,’ उनले भने, ‘तालिममा सिकेको सिपले उहाँहरुको आयआर्जनमा पनि सघाउ पु¥याउछ भन्ने बिश्वास लिएका छौ ।’

तालिम समापनको अवसरमा दुई सर्वाेकृष्ट सहभागीलाई पुरस्कृत समेत गरिएको छ । पुनम कुमाल र सञ्जु कुमाललाई नगद १५ हजारका दरले पुरस्कृत गरिएको पालिकाका रोजगार संयोजक उत्तम ओस्तीले बताए ।
तालिम अवधिभर अम्मर प्रजापतिले सहजिकरण गरेका थिए ।



































