६ असार, गोरखा । पालुङटार नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमवार १५ औं नगरसभामा नगर प्रमुख विवस चिन्तनले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उक्त नीति तथा कार्यक्रममा पालुङटारलाई प्लाष्टिकमुक्त नगरपालिका बनाउन आवश्यक पहल गरिने भनिएको छ । छुवाछुतमुक्त पालिका बनाउन बिशेष योजना बनाइने नगर प्रमुख चिन्तनले बताए । ‘स्मार्ट सिटीको अवधारणा लागू भई बिभिन्न कार्यक्रमहरु अघि बढेकाले उक्त कार्यक्रमलाई तिव्रताका साथ कार्यान्वयन गर्न जोड दिइने छ,’ उनले भने । पालुङटारलाई महिलामैत्री नगर बनाउन बिशेष पहल गरिने उनले जानकारी दिए ।
नगर क्षेत्रका टेलिफोन टावर, केवललाईन र होर्डिङ बोर्डमा कर लगाउने नीति पालिकाले ल्याएको छ । नगरपालिकाको रिङरोड, बसपार्क र रंगशालालाई पूर्णता दिइने योजना अघि सारिएको छ । कृषि तथा पशुपंक्षी बिकास तर्फ ‘बनको बाँदर बनैमा’ भन्ने नाराका साथ बाँदर, दुम्सी, मृग लगायतका वन्यजन्तुबाट बालीनालीलाई संरक्षण गर्न आवश्यक प्राकृतिक उपाय अवलम्वन गरिने बताइएको छ । बाँदरको प्रकोप बढी भएको क्षेत्रमा बाँदरले नष्ट नगर्ने खुर्सानी, अदुवा, बेसार, जौ, टिमुर, कटहर, कागती जस्ता वालीको खेति गर्न लागी प्रोत्साहन गर्ने नगरपालिकाको योजना छ ।
जंगलमा फलफूलका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा संचालन गरिने पालिकाले जनाएको छ ।
बाँझो जमिन खेतीका लागि प्रोत्साहन कार्यक्रम संचालन गरिने र नगर प्रमुखसँग लोक कल्याणकारी किसान कोष मार्फत उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालनमा गरिने नगर प्रमुख चिन्तनले बताए । उत्पादित कृषि उपजहरुको बजारीकरण तथा भण्डारणका लागी सुविधा सम्पन्न कोल्ड स्टोर, दुग्ध संकलन केन्द्र संचालन गर्ने र दाना उद्योगलाई आवश्यक पर्ने मकै, भटमास लगायतका खेतीलाई प्रोत्साहन गर्ने नीति ल्याइएको उनले जानकारी गराए ।
बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय संचालन गर्न चाहने यूवा उद्यमी व्यवसायीलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने पालिकाको योजना छ । लगानीमैत्री पालुङटार सिर्जना गर्ने अवधारणा स्वरुप ‘इन्भेष्ट इन पालुङटार’ अभियान संचालन गर्ने नीति पालिकाले लिएको छ ।
नगरभित्र रहेका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार हुने गरी एकीकृत कार्यक्रम संचालन गर्ने पालिकाले जनाएको छ । कुमाल, गन्धर्व, र दलित लगायतका सीमान्तकृत जातीहरुका साथै विपन्न वर्गहरुको लागि बिशेष कार्यक्रम संचालन गरिने बताइएको छ ।
सामुदायिक बिद्यालयहरुलाई आवश्यकताको आधारमा स्कुल बस संचालनको व्यवस्था मिलाउने, प्राविधिक धार संचालन भएका बिद्यालयहरुलाई बिशेष अनुदानको व्यवस्था गर्ने र साथीबाट सिक्ने र साथिलाई सिकाउने (सहपाठी सिकाई) कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्ने पालिकाले जनाएको छ । बिद्यालयमा अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्न झोला बिहिन शुक्रवार कार्यक्रम कार्यान्वयन गरिने बताइएको छ ।
स्वास्थ्य तर्फ गर्भवती महिलालाई प्रसूतीका लागी नगरपालिकाभित्रका अस्पताल वा वर्थिङ सेन्टरसम्म पुग्न निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिने कार्यक्रम नगरपालिकाले ल्याएको छ । नगरभित्र मृत्यु भएका मृतकको शव व्यवस्थापनका लागी निशुल्क शव वहानको व्यवस्था गरिने बताइएको छ ।



































