नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको स्मृतिमा पार्क निर्माणको कार्य सुरु भएको छ । भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित चण्डीस्थानमा पार्क निर्माणको काम अघि बढेको हो । पार्क निर्माणका लागि विगत तीन बर्षदेखि पालिकाले रकम विनियोजन गर्दै आएको छ । हालसम्म ५० लाख रकम विनियोजन भइसकेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए ।
उक्त रकमबाट सो क्षेत्रमा भीमसेन थापाको पूर्ण कदको शालिक, प्रवेशद्धार र सिढी बाटो निर्माण गरिएको छ । मिनि संग्रहालयको रुपमा भिमसेन थापा स्मारक संग्रहालय पनि निर्माण भएको छ । करिव नौ रोपनी क्षेत्रफलमा घेरावार लगाउने काम समेत भएको पालिकाले जनाएको छ ।
पार्क निर्माणमा भीमसेन थापा बोर्लाङ प्रतिष्ठानले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । भीमसेन थापाको नाममा रहेको जग्गा फिर्ता ल्याउने काम प्रतिष्ठानले गरेको छ । ‘नापीमा बुझ्दा भीमसेन थापाको नाममा रहेको यहाँको जग्गा व्यक्तिहरुको नाममा पास भइसकेको रहेछ,’ प्रतिष्ठानका अध्यक्ष राजु थापाले भने, ‘हामीले किनेर भएपनि करिव नौ रोपनी जग्गा प्रतिष्ठानको नाममा ल्याएका छौ ।’ साढे दुई रोपनी जग्गा दानमा प्राप्त भएको र बाँकी खरिद गरिएको उनले जानकारी दिए । ‘अहिले मिनि संग्रहालय राखिएको घरपनि व्यक्तिको थियो, त्यसलाई पनि प्रतिष्ठानले किनेको हो,’ उनले भने ।
संग्रहालयमा भीमसेन थापाले प्रयोग गरेका पोशाक, हातहतियार लगायतका सामग्रीहरु राखिएका छन् । २०८० साल साउन ९ गते उद्घाटन गरिएको उक्त संग्रहालय अवलोकन हालसम्म निशुल्क थियो । अव भने शुल्क तिर्नुपर्ने प्रतिष्ठानका अध्यक्ष थापाले बताए । उनका अनुसार बिद्यार्थीका लागि १० र अन्यका लागि २० रुपैया प्रवेश शुल्क निर्धारण गरिएको छ ।

भीमसेन थापा स्मृती पार्कको डिपिआर समेत तयार भइसकेको गाउँपालिका अध्यक्ष बञ्जराले बताए । ‘यहाँ पहिले भीमसेन थापाको दरवार पनि थियो, १९९० सालको भूकम्पले त्यो भत्कायो,’ उनले भने, ‘अव त्यस्तै दरवार बनाएर त्यसलाई संग्रहालय बनाउने योजना डिपिआरमा छ ।’ डिपिआर अनुसार योजना सम्पन्न गर्न करिव ६ करोड बजेट आवश्यक पर्ने बताउँदै उनले पालिकाको बजेटबाट मात्र त्यो सम्भव नहुने बताए । संघ र प्रदेश सरकारसँग समन्वय गरेपनि आवश्यक सहयोग नपाएको उनको गुनासो छ ।
भीमसेन थापाको २५० औ जन्मजयन्तीको अवसर पारेर वुधवार सो क्षेत्रमा कार्यक्रम समेत भएको छ ।
भीमसेन थापा बोर्लाङ प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा भीमसेन थापाको शालिकमा माल्र्यापण गरिएको थियो । गाउँपालिका अध्यक्ष बञ्जरा र प्रमुख जिल्ला अधिकारी भोला दाहालले संयुक्त रुपमा शालिकमा माल्र्यापण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रजिअ दाहालले ऐतिहासिक र परम्परागत धरोहरलाई जोगाउँदै लानुपर्ने बताए । सो क्षेत्रलाई ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बिकास गर्न उनले सुझाव दिए ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष बञ्जराले इतिहासको जर्गेना गर्दै त्यसको संरक्षण र सम्वद्र्धनका लागि पार्क निर्माणले सहयोग पुग्ने बताए । पर्यटन प्रवद्र्धनमा पनि यसले सहयोग पुग्ने भन्दै उनले पार्क निर्माणका लागि सहयोग गर्न सबै पालिकावासीलाई आग्रह गरे । ‘एकले थुकी सुकी, सयले थुकी नदी भनेजस्तै यो पार्क निर्माणका लागि सबै लागि पर्नुपर्छ । संघ र प्रदेशबाट बजेट नआएपनि पालिकाले यसलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्छ र यसलाई हामी बनाएर छाड्छौ,’ उनले भने । उक्त पार्कका लागि यो बर्ष पनि दश लाख रकम छुट्याइएको उनले जानकारी गराए । जन्मजयन्तीको अवसर पारेर वुधवार पालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।
शहिद बाटिका उद्घाटन
भीमसेन थापाको जन्मजयन्तीकै अवसर पारेर भीमसेन थापा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन परिसरमा निर्माण भएको शहिद बाटिकाको पनि उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष बञ्जरा र प्रजिअ दाहालले संयुक्त रुपमा उक्त बाटिकाको उद्घाटन गरेका हुन् । शहिद बाटिकाभित्र बिभिन्न कालखण्डमा राष्ट्रका लागि ज्यान गुमाएका शहिदहरुको सम्झनामा शहिद स्तम्भ निर्माण गरिएको छ । त्यस्तै तत्कालिन सशस्त्र द्धन्द्धको समयमा राज्य पक्ष र तत्कालिन बिद्रोही पक्षबाट वेपत्ता पारिएकाहरुको सम्झनामा वेपत्ता स्तम्भ समेत निर्माण भएको छ ।
शहिदहरुको सम्झना र सम्मान स्वरुप उक्त शहिद बाटिका निर्माण गरिएको पालिका अध्यक्ष बञ्जराले बताए । सँगै भीमसेन थापाको स्तम्भ स्वरुप मिनि धरहरा समेत निर्माण गरिएको उनले जानकारी दिए ।
प्रदेश सरकारको २५ लाख बजेटले उक्त शहिद बाटिका निर्माण भएको पालिकाले जनाएको छ ।



































