२० साउन, गोरखा । पालिकाको आठ वटै वडालाई पक्की सडकले जोड्ने लक्ष्य सहित भीमसेन थापा गाउँपालिकाले सुरु गरेको चक्रपथ निर्माणको कामले गति लिन थालेको छ । कुल २४ किलोमिटर दुरीको उक्त सडकलाई तीन खण्डमा बिभाजन गरी काम भइरहेको छ ।
झिंगटेबाट चण्डिगैरासम्म पहिलो खण्ड, चण्डिगैरादेखि तान्द्राङ खोलासम्म दोस्रो र तान्द्राङ खोलादेखि सिमलाफेदसम्म तेस्रो खण्ड भनि बिभाजन गरिएको पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । तीन वटै खण्डमा छुट्टाछुट्टै ठेक्का लागेर काम भइरहेको उनले जानकारी दिए ।
पहिलो खण्डमा हालसम्म करिव दश करोड रकम खर्च भइसकेको छ ।
‘पालिकाको मात्रै करिव पाँच करोड लगानी भइसक्यो,’ इन्जिनियर कपिल पनेरुले भने, ‘बाँकी पाँच करोड लगानी गण्डकी प्रदेश सरकारबाट भएको हो ।’ उनका अनुसार करिव आठ किलोमिटरको उक्त खण्डमा ६.५ किलोमिटर सडक ग्राभेल भइसकेको छ । एक किलोमिटर ढलान र करिव ६ किलोमिटर नाला निर्माण भएको उनले जानकारी दिए ।
वन मुद्दाका कारण दोस्रो खण्डको काम भने प्रभावित बनेको छ । हालसम्म ३० लाखभन्दा बढीको काम हुन सकेको छैन । करिव एक सय मिटर सडक ढलान र केही ठाउँमा ह्युमपाइप राख्ने काम वाहेक अन्य प्रगति नभएको पालिकाले जनाएको छ । उक्त खण्डको ऐरिभन्ज्याङदेखि कटलेचौरसम्म सडक ट्रयाक खोल्ने क्रममा वन फडानीको मुद्दा लागेको थियो । मुद्दा फैसला नभएका कारण काम प्रभावित बनेको बताइएको छ ।
तेस्रो खण्डमा हालसम्म दुई करोड रकम खर्च भइसक्यो । संघीय समपुरक अनुदानको ८० लाख र बाँकी पालिकाको बजेट खर्च भएको हो । उक्त बजेटले क्रस ड्रेनेज, रिर्टनिङ वाल, नाला र केही ठाउँमा सडक ढलान गर्ने काम भएको पालिका इन्जिनियर पनेरुले बताए ।
‘दुई वटा कज वे, पाँच ठाउँमा क्रस ड्रेनेज र ठाउँठाउँमा ह्युमपाइप राखेर कलभर्ट पनि बनाएका छौ,’ उनले भने ।
उक्त खण्डमा यो बर्ष संघबाट करिव डेढ करोड रकम विनियोजन भएको छ । पालिकाको तर्फबाट थप डेढ करोड विनियोजन गरेर कुल तीन करोडको ठेक्का खोल्ने उनले जानकारी दिए । ‘यो खण्डको ९ ठाउँमा क्रस ड्रेनेज हाल्नुपर्ने छ, रिटर्निङ स्टक्चरसहित ढलानको काम पनि यही बजेटबाट गर्छाै,’ उनले भने ।
आर्थिक बर्ष २०७५÷७६ बाट ठेक्का लागेर भीमसेन थापा चक्रपथ निर्माणको काम सुरु भएको हो । हालसम्म आठ किलोमिटर सडक ग्राभेल र एक किलोमिटर सडक ढलान भइसकेको बताइएको छ । झिंगटीदेखि अश्राङ बोर्लाङ हुदैँ ऐरीभन्ज्याङसम्म बाह्रै महिना यातायात चल्ने गरी सडक स्तरोन्नती भइसकेको पालिका अध्यक्ष बञ्जराले बताए ।
‘चक्रपथको सडकलाई कालोपत्रे गर्ने र बाह्रै महिना सवारी आउजाउ सहज बनाउने लक्ष्य हो, क्रमश कामले गति लिदैँ छ,’ उनले भने । चक्रपथ निर्माण भएसँगै आउजाउ मात्र नभइ पालिकाको स्थानीय उत्पादनको बजार व्यवस्थापनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।



































