गोरखा नगरपालिका–५ को वडाध्यक्षमा माओवादी केन्द्रका बिष्णुबहादुर राना मगर बिजयी भएका छन् । आइतवार भएको उपनिर्वाचनमा कुल ४८६ मत ल्याउदै उनी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेलाई उनले ८४ मतले पछि पारे । आलेले ४०२ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेकी उम्मेदवार दुर्गा माया थापा रानाले ३४५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबहादुर थापाले ८२ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना रानाले १२ मत, नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले १०, मंगोल नेशनल अर्गनाइजेसनकी भवानी थापा मगरले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुप सिं रानाले ५ र नेशनल रिपब्लिक नेपालकी सविना तामाङले ४ मत ल्याएकी छन् ।
कुल २ हजार २२५ मतदाता रहेको उक्त वडामा १ हजार ३७३ मत खसेको थियो । जसमध्ये १८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त वडा कांग्रेसले जितेको थियो । माओवादी दोस्रो बनेको थियो भने एमाले तेस्रो । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसलाई हराउँदै एमालेका उम्मेदवार खिलबहादुर राना बिजयी बनेका थिए । २६ मतले हारेर कांग्रेस दोस्रो बनेको थियो भने माओवादी तेस्रो बनेको थियो ।
यसअघिका वडाध्यक्ष स्व. खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते निधन भए पश्चात रिक्त रहेको वडाध्यक्ष पदमा उपचुनाव भएको हो ।



































