चुमनुव्री गाउँपालिका–१ सामागाउँमा ८० वटा याकलाई काटमार र बेचबिखन गर्न नपाउने गरी स्वतन्त्र छाडिएको छ । नुव्रीको प्रचिन परम्परा अनुसार उनीहरुलाई छेत्तर (याकको कानमा जन्तर लगाउने काम) गरि स्वतन्त्र छाडिएको स्थानीय बीरबहादुर लामाले बताए । पल ङग्युर पेमा देछोलिङ गुम्वाले आइतवार बिशेष किसिमको पुजा गरी ती याकको छेत्तर गरेको उनले जानकारी दिए ।
छेत्तर गरेपछि ती पशुलाई काटमाट, बेचबिखन, भारी बोकाउने लगायतका काम गर्न नपाइने उनको भनाइ छ । ‘हिंसा नगर्ने, भारी पनि नबोकाउने र बेच्दा पनि नबेच्ने गरी जंगलमा स्वतन्त्र छाड्ने चलन छ,’ उनले भने ।
अहिंसालाई प्रवद्र्धन गर्न वुद्ध धर्म गुरुहरुले बर्षेनी छेत्तर गर्ने चलन रहेको उनको भनाइ छ । ‘याक, चौरी, झोपालाई छेत्तर गर्ने हाम्रो नुब्रीको प्राचीन कालदेखिको परम्परा हो,’ उनले भने, ‘छेत्तर गरेपछि याकचौँरीको पनि आयु बढ्ने, आफ्नो पनि आयु बढ्ने र ग्रहदशा काटिने जनविश्वास छ ।’
छेत्तर गर्ने पशुचौपायालाई लामा गुरुहरुले पशुधनीहरुलाई न्यूनत्तम पैसा तिर्छन् । ‘छेत्तर’ हिमालपारि अवस्थित नुब्री उपत्यकाको मौलिक संस्कृति हो । दुर्घटनामा नपरे एउटा याक करिब २० बर्ष बाँच्छ । याक र झोपा २५–३० बर्षसम्म बाँच्छ । ६–७ बर्ष पुगेर छिप्पेको याक, चौरी, झोपालाई लामाले दिन र बार मिलाएर छेत्तर गर्ने परम्परा छ ।
मन्त्र पढेर शुद्ध पारिएका पाँच रङका कपडाका टुक्रा(सुङ रे)लाई लामाले ती पशु चौपायाका कानमा झुण्ड्याइदिने चलन छ । कानमा त्यस्ता जन्तर झुण्ड्याएका पशुचौपायालाई काटमार गर्न नपाइने, बेच्ने, भारी बोकाउन, दूध दुहुनसमेत नपाइने परम्परा रहेको लामाले बताए ।



































