२०७२ को भूकम्पमा ज्यान गुमाएकाहरुको नामावली प्राप्त नभएर रोकिएको बारपाकको भूकम्प स्मृति पार्क निर्माणको काम अघि बढ्ने भएको छ । गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको मृतक संख्या मात्र उल्लेख गर्ने निर्णय गरेर निर्माण कार्यलाई निरन्तरता दिन लागिएको हो ।
यसअघि पार्कभित्र भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्पमा परी ज्यान गुमाएकाहरुको नाम लेख्ने भनिएको थियो । त्यसका लागि पार्कमा १४ जिल्लाको छुट्टाछुट्टै स्तम्भ पनि निर्माण गरिएको छ । तर सम्पूर्ण मृतकहरुको आधिकारिक नामावली सम्बन्धित निकायबाट प्राप्त नहुदाँ काम रोकिएको थियो ।
‘अरु जिल्लाहरुबाट मृतकको संख्या र नाम आधिकारिक रुपमा आउन सकेन,’ संघीय शहरी बिकास तथा भवन निर्माण कार्यालय कास्की प्रमुख सुनिता श्रेष्ठले भनिन्, ‘नामावलीकै कारण लामो समय योजनाको काम रोकिएपछि केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) मा गत भदौ १६ गते बैठक बसेर गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको भने मृतक संख्या मात्र उल्लेख गरी तामपत्र राख्ने बिभागीय निर्णय भयो ।’
सोही निर्णय अनुसार काम अघि बढाउन निर्माण कम्पनीलाई पत्राचार समेत भइसकेको उनले जानकारी दिइन् । मृतकहरुको नामावली समेत कार्यालयले उपलब्ध गराइसकेको छ । मृतकहरुको नामावली र संख्या जिल्ला प्रशासन कार्यालयबाट माग गरिएको थियो । प्रशासनले ४९० जना मृतक रहेको भन्दै नामावलीसहितको विवरण पठाएको छ । सोही विवरण अनुसार स्तम्भमा नाम लेख्न निर्माण कम्पनीलाई भनिएको श्रेष्ठले जानकारी दिइन् ।
पार्क निर्माणका लागि २०७४ साल मंसिर १४ गते स्वच्छन्द÷होम निर्माण जेभिसँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०७७ साल जेठ १३ गते काम सक्नुपर्ने थियो । तर नामावली प्राप्त नभएका कारण काम रोकिएको र पटक पटक म्याद थप हुदैँ आएको थियो ।
हालसम्म पाँचौ पटक म्याद थप भइसकेको इन्जिनियर बिरवल सुनार बताए । ‘निर्माण कम्पनीले काम नगरेर भन्दापनि नामावली उपलब्ध गराउन नसकेको काम रोकिएको हो, अव काम अघि बढेर योजना सम्पन्न हुन्छ,’ उनले भने ।
गोरखाको मात्र नामावली समावेश गराएर योजना सम्पन्न गर्न पटक पटक आफूहरुले आग्रह गर्दै आएको बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताए । ‘नामावलीकै कारण योजना अलपत्र भएपछि संघीय शहरी बिकास तथा भवन निर्माण कार्यालय कास्की पुगेर हामीले गोरखाको मात्र नामावली राखेर भएपनि योजना सम्पन्न गरौ भनेर पटक पटक आग्रह गरेका थियौ,’ उनले भने, ‘अहिले त्यही अनुसार निर्णय भएर आयो, अव बल्ल योजना सम्पन्न हुने भयो ।’



































