प्राकृतिक रुपमा रहेका ढुंगाहरुको सदुपयोग गर्दै गोरखा नगरपालिका–६ सरस्वतीमार्ग (समीढाँड) मा ‘रक गार्डेन’ बन्दै छ । गोरखा स्टोन पार्क समेत नामाकरण गरिएको उक्त स्थलमा अहिले संरचना निर्माणका कामहरु भइरहेका छन् ।
दृश्य अवलोकनका लागि दुई वटा ‘भ्यू प्वाइन्ट’ बनाइएको छ । एउटा सम्पन्न भइसकेको छ, अर्को निर्माणाधिन छ । ‘तल्लो भ्यू प्वाइन्ट बनिसक्यो,’ वडाध्यक्ष राजेन्द्र कुमार जोशीले भने, ‘माथिको निर्माण हुदैँ छ ।’ त्यहाँसम्म पुग्न फलामे भ¥याङ जडान भइरहेको उनले जानकारी दिए । उनका अनुसार पार्क स्थलमा प्रतिक्षालय, टिकट काउण्टर र क्यान्टिन घर निर्माण भइसकेका छन् । पार्क स्थलमा तारजालीको घेरावार लगाइएको छ ।
शारिरिक व्यायमका लागि उपकरणहरु समेत जडान गरिएको छ । ‘राजनराज पन्त मेयर हुदाँ नगरपालिकाले आउटर जिमको अवधारणा अनुसार केही उपकरणहरु किनेर राखेको रहेछ,’ वडाध्यक्ष जोशीले भने, ‘प्रयोगविहीन भएर बसेका ती उपकरणहरु पनि अहिले त्यही पार्कमा जडान गरेका छौं ।’

पार्क निर्माणका लागि हालसम्म दश लाख रकम खर्च भइसकेको छ । उक्त रकम गोरखा नगरपालिकाबाट विनियोजन भएको हो । यो बर्ष थप पाँच लाख रकम विनियोजन भएको छ । उक्त रकमले निर्माणाधिन भ्यू प्वाइन्ट सम्पन्न गर्ने, पिकनिक स्पट र शौचालय जस्ता संरचना निर्माण गर्ने योजना रहेको वडाध्यक्ष जोशीले जानकारी दिए । फलामे भ¥याङलाई कुहिरेभिरसम्म जोड्ने र ठाउँ ठाउँमा पुल बनाउने योजना रहेको उनले बताए । सो क्षेत्रमा रक क्लाइम्विङ जस्तो साहसिक खेल संचालन गर्ने लक्ष्य समेत राखिएको छ । वडाको माग अनुसार पार्क निर्माणका लागि नगरपालिकाबाट बजेट विनियोजन भएको उनको भनाइ छ ।
सो स्थलमा रक गार्डेनको अवधारणा ल्याउने डा. सन्दिप गोर्खाली हुन् । स्थानीय टोलवासी र सरोकारवालाहरुको समन्वयमा उनले कामको थालनी गरेका हुन् । नगरपालिकाले खरिद गरेर अलपत्र रहेको खुल्ला जिमको उपकरणहरु सदुपयोग गर्दै उनले सो स्थलमा जडान गरे । उक्त कार्यका लागि नगरपालिकाबाट दुई लाख रकम विनियोजन समेत भएको थियो ।

बालबालिकादेखि वृद्धसम्म सबै पुस्ताका व्यक्तिहरुलाई उपयुक्त हुने किसिमले पार्क निर्माण गर्न लागिएको उनले बताए । योगा स्थल र सुर्याेदय र सुर्यास्तको दृश्य अवलोकनका लागि पनि ठाउँ निर्माण गरिने बताइएको छ । गोर्खालीका अनुसार बिभिन्न धर्म र जातजातीको पहिचान झल्कने खालका संरचनाहरु पनि निर्माण हुने छन् । चार जात छत्तीस वर्णको साँझा फुलवारीको रुपमा पार्कलाई स्थापित गराउने अवधारणा रहेको उनको भनाइ छ ।
त्यहाँ रहेका ढुंगाहरुलाई कुदेर मूर्ती बनाइने भनिएको छ । पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्यले पार्क निर्माणको काम अघि बढाइएको हो । गोरखा आउने पर्यटकलाई कम्तिमा एक–दुई घण्टा सदरमुकाममा भुलाउन उक्त पार्कले सहयोग गर्ने अपेक्षा लिइएको छ । यसले पर्यटकको गोरखा बसाई लम्व्याउन पनि मदत पुग्ने बताइएको छ ।

गोरखा स्टोन पार्क नामक समिति गठन गरेर दर्ता प्रक्रिया अघि बढाइएको छ । गोर्खाली समितिका सल्लाहकार समेत हुन् । पार्क निर्माण कार्य सम्पन्न भएपछि आवश्यक मर्मत खर्च जुटाउन प्रवेश शुल्क निर्धारण गरिने भनिएको छ । पार्क निर्माणमा आमा बा अस्पताल लगायत अन्य संघसंस्था र व्यवसायीहरुले पनि सहयोग गर्दै आएका छन् । स्थानीय टोलबासीको श्रमदान समेत रहेको छ ।
पार्कबाट गोरखा बजार लगायत अन्य स्थलको राम्रो भ्यू देखिने भएकाले पनि पर्यटनहरुको आकर्षणको केन्द्रविन्दु बन्ने अपेक्षा गरिएको छ ।



































