उत्तरी गोरखा हुदैँ चीनको सिमा जोड्ने बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम विगत सात बर्षदेखि जारी छ । बेनिघाटदेखि चीनको सिमा लार्के भन्ज्याङसम्मको कुल १५४ किलोमिटर खण्डमध्ये ९७ किमी खण्डमा सडक ट्रयाक खुलेर सवारी चल्न थालिसके ।
बेनिघाटदेखि हावाडाँडाको ६२ किलोमिटर खण्ड सडक बिभागले निर्माण गरेको हो । हावाडाँडादेखि लार्केभन्ज्याङसम्मको ९२ किमी खण्ड भने बिभागले नेपाली सेनालाई जिम्मा लगाएको हो । त्यसमध्ये नेपाली सेनाले हालसम्म ३५ किमी ट्रयाक खनिसकेको छ । हावाडाँडादेखि चुमनुव्री गाउँपालिकाको पाङसिङसम्म सडक ट्रयाक खुलेर सवारी संचालनमा आइसकेको छ । सवारी आवागमनमा सहजताका लागि माछीखोलामा बेलिब्रिज समेत राखिएको छ । हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक बिभागलाई हस्तान्तरण समेत गरिसकेको छ ।

अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । चार खण्डमा बिभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । कार्यदलका अनुसार पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिरमा ब्लाष्टिङको काम भइरहेको छ ।
दुई किलोमिटर ट्रयाक खन्नका लागि यो बर्ष नेपाल सरकारबाट सात करोड रकम विनियोजन भएको छ । कम बजेट विनियोजन भएको भन्दै थप गरिदिन चुमनुव्री गाउँपालिकाले माग गर्दै आएको छ । गत बर्ष दश करोड रकम विनियोजन भएको थियो ।
२०५२ सालमा बेनिघाट आरुघाट आर्खेत खण्डमा सडक निर्माणको काम सुरुवात भएको थियो । आर्थिक बर्ष २०६३\६४ मा वेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक बिभागलाई उक्त सडक निर्माणको कार्यभार दिइयो । आव २०६६\६७ मा मात्र उक्त सडक निर्माणको कार्य सुरु भयो । तर हावाडाँडादेखि करिव १ किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर परेकाले पाँच बर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडी बढ्न सकेन ।

२०७४ साल बैशाखमा कठिन मानिएको ९२ किमी खण्ड सडक बिभागले नेपाली सेनालाई हस्तान्तरण ग¥यो । २०७३ मंसिर २६ गतेको मन्त्रीपरिषद बैठकबाट निर्णय भएपश्चात नेपाली सेनाले २०७४ बैशाख महिनाबाट काम शुरु गरेको हो ।
उक्त सडक धार्चे गाउँपालिकाको लापुवेशी, माछाखोला, जगत हुदैं चुमनुव्री गाउँपालिकाको सिर्दिवास, बिही, प्रोक, सामागाउँ, साम्दो हुदै चीनको सिमा लार्के भञ्ज्याङ जोडिने छ । उक्त सडकलाई उत्तरी गोरखाको लाइफलाइनको रुपमा हेरिएको छ । तर बजेट विनियोजनमा सरकारले कन्जुस गर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।



































