दुई धार्मिक स्थल मनकामना र देवघाट जोड्ने गरी संचालन भएको अल्ट्रा ¥याफ्टिङ म्याराथन प्रतियोगिताको उपाधि बाग्मती प्रदेशले हात पारेको छ ।
५० किलोमिटरको निर्धारित दुरी १ घण्टा ४६ मिनेट ४३ सेकेण्डमा पार गर्दै वाग्मतीले उपाधि जितेको हो । उक्त टिमले ६० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
निर्धारित दुरी १ घण्टा ४७ मिनेट ३० सेकेण्डमा पार गर्दै गण्डकी प्रदेश उपाधि उपविजेता बनेको छ । उक्त टिमले ४० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक गण्डकी प्रदेश खेलकुद बिकास परिषदले जनाएको छ ।
प्रतियोगितामा कोसी प्रदेश तेस्रो, त्रिभुवन आर्मी क्लब ‘बि’ चौथो र त्रिभुवन आर्मी क्लब ‘ए’ ले पाँचौ स्थान हासिल गरेको छ । उनीहरुले निर्धारित दुरी क्रमश १ घण्टा ४८ मिनेट १८ सेकेण्ड, १ घण्टा ५० मिनेट १३ सेकेण्ड र १ घण्टा ५० मिनेट ५८ सेकेण्डमा पार गरेका थिए । पुरस्कार स्वरुप उनीहरुले क्रमश २० हजार, १० हजार र ७ हजार नगदको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।
गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने त्रिशुली नदीबाट सुरु भएको ¥याफ्टिङ चितवनको देवघाटस्थित नारायणी नदीमा पुगेर टुंगिएको हो । वुधवारबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो ।
परिषदको बार्षिक स्वीकृत कार्यक्रममा समावेश साहसिक प्रतियोगिता अन्तरगत नेपालमै पहिलो पटक अल्ट्रा ¥याफ्टिङ म्याराथन प्रतियोगिता गरिएको परिषदका साहसिक खेलकुद संयोजक बसन्तराज दवाडीले बताए ।



































