२०७२ को भूकम्पअघि दुई घर मात्र थियो । भूकम्प पश्चात घरधुरी थपिदै गए । खरवारीले ढाकिएको पालुङटार नगरपालिका–९ पिप्ले बगैचामा अहिले बाक्लै वस्ती बसिसकेको छ । बोरिभन्ज्याङ र काउनडाँडाका स्थानीयले बस्ती भरिएको छ । भूकम्प पश्चात सुरक्षित स्थान खोज्दै उनीहरु वेशी झरेका हुन् ।
‘माथि भिरालो ठाउँ, पहिरोको डर भयो । फेरी भूकम्पले घर पनि भत्कायोे,’ काउनडाँडाबाट बसोवासका लागि तल झरेकी ८१ बर्षीया कुमारी गुरुङले भनिन्, ‘हामी तीन घर थियौ, दुवै देवरहरु तल झरेपछि के एक्लै बस्ने भनेर हामी पनि यतै आयौ ।’ ६ बर्षदेखि पिप्ले बगैचामा बस्दै आएको उनले बताइन् । भूकम्पपछि जग्गा किनेर नयाँ घर बनाएको अनि बसोवास गर्न थालेको उनले सुनाइन् ।
उनका अनुसार पहिले त्यस ठाउँमा वस्ती नभएकाले साँझमा हिडडुल गर्न स्थानीय डराउने गर्थे । ‘त्यहाँ झुपुक्क वन थियो, साँझ परेपछि हिड्नै डर लाग्थ्यो तर अहिले त्यही ठाउँमा वस्ती बन्यो,’ उनले भनिन् । ६७ बर्षीय बिष्णुमाया गुरुङको घर पनि त्यही छ । उनी भूकम्पअघि नै बोरिभन्ज्याङबाट तल झरेकी हुन् ।
‘वेशी आउजाउ गर्न टाढा भयो भनेर हामी २०६९ सालबाटै यहाँ आएर बस्न थालेका हौ,’ उनले भनिन्, ‘हामी आउँदा यहाँ एउटा घर मात्र थियो, भूकम्पपछि धेरै घरहरु थपिए ।’ उनका अनुसार वस्तीमा हाल २० घरधुरी छन् । ती सबै भूकम्प पश्चात बोरिभन्ज्याङ र काउनडाँडाबाट बसाइ सरेर आएका हुन् ।
वस्ती बढेपछि अहिले सो ठाउँमा इच्छादेवीको मन्दिर निर्माण गरिएको छ । बोरिभन्ज्याङमा रहेको उक्त मन्दिर त्यहाँ सारिएको स्थानीय गणेश गुरुङले बताए । ‘माथि गाउँका मान्छे सबै तल झरेपछि त्यहाँ रहेको मन्दिर यहाँ सारेका हौ, बिशेष पुजाआजा गरेर यही चैत्र ३० गते देवीलाई यहाँ ल्याउने तयारी छ,’ उनले भने । पुर्णिमा र पञ्चकको दिन उक्त मन्दिरमा बिशेष पुजाआजा हुने उनले जानकारी दिए ।
सँगै चौतारा पनि निर्माण भएको छ । चौतारा निर्माणका लागि पालुङटार नगरपालिकाबाट बजेट समेत विनियोजन भएको छ । वस्तीसम्म पुग्ने सडक भएपनि बर्षाको समयमा आउजाउमा समस्या हुने गरेको स्थानीयको गुनासो छ । सडक स्तरोन्नती गरिदिन उनीहरुले आग्रह गरेका छन् । उक्त वस्तीमा गुरुङ समुदायको बाहुल्यता रहेको छ ।



































