गोरखा नगरपालिका वडा नम्वर १३ को कार्यालय भवन शिलन्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमवार एक कार्यक्रमकाबीच भवनको शिलन्यास गरेका हुन् ।
गण्डकी प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा भवन निर्माण हुन लागेको हो । कुल एक करोड २० लाखमा ठेक्का सम्झौता भएर काम अघि बढेको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । ‘गण्डकी प्रदेशले ४० लाख उपलब्ध गराउछ,’ उनले भने, ‘बाँकी वडा र नगरपालिकाले व्यहोर्छ ।’
यो बर्ष वडा र नगरको गरेर कुल ४० लाख रकम रहेको जानकारी गराउँदै उनले थपे, ‘स्रोत सुनिश्चितता गरेर नगरपालिकाले ठेक्का खुलाएको हो, त्यसैले बाँकी रकमको समस्या हुदैन ।’ भवन निर्माणको जिम्मा राजहंस कन्स्ट्रक्सनले पाएको छ । २०८२ साल चैत्र मसान्तभित्र काम सक्ने गरी सम्झौता भएको बताइएको छ । नयाँ बन्ने वडा कार्यालयको भवन साढे दुई तलाको हुनेछ । कुल ६ वटा कोठा रहने छन् । चार आना दुई पैसा जग्गामा भवन बन्न लागेको हो । अहिले वडा कार्यालय भाडामा संचालन भइरहेको वडाध्यक्ष मित्र कुमारी परियारले बताइन् । नयाँ भवन बनेसँगै सेवा प्रवाहमा सहज हुने अपेक्षा उनले गरेकी छन् ।
कुल १४ वटा वडा रहेको गोरखा नगरपालिकामा अधिकांश वडाको आफ्नै भवन छन् । वडा नम्वर ६, ७, ८, १० र १३ वाहेक अन्य सबैको आफ्नै भवन रहेको नगरपालिकाले जनाएको छ । वडा नम्वर १३ को भवनको सोमवार शिलन्यास भएको छ भने वडा नम्वर ८ को ठेक्का प्रक्रिया अघि बढेको छ । वडा नम्वर ६ साविकको महिला तथा बालबालिका कार्यालयको भवनमा संचालनमा छ भने वडा नम्वर ७ को कार्यालय सामुदायिक भवनमा संचालनमा छ । वडा नम्वर १० पनि यसअघि सरकारी कार्यालय रहेको भवनमा संचालनमा छ ।



































