लामो समयदेखि रोकिएको बारपाकमा निर्माणाधिन भूकम्प स्मृति पार्कको काम अघि बढेको छ । २०७२ को भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा निर्माण गर्न लागिएको उक्त पार्कको काम केही दिनअघि बाट पुनः सुरु भएको हो ।
पार्कभित्र भूकम्प अति प्रभावित १४ जिल्लाका भूकम्पमा परी ज्यान गुमाएकाहरुको नाम लेख्ने भनिएको थियो । तर मृतकहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त नभएकै कारण काम रोकिएको थियो । गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको मृतक संख्या मात्र उल्लेख गर्ने निर्णय भएर अहिले काम पुनः सुचारु गरिएको संघीय शहरी बिकास तथा भवन निर्माण कार्यालय कास्कीले जनाएको छ ।
‘अरु जिल्लाहरुबाट मृतकको संख्या र नाम आधिकारिक रुपमा आउन सकेन,’ कार्यालय प्रमुख सुनिता श्रेष्ठले भनिन्, ‘नामावलीकै कारण लामो समय योजनाको काम रोकिएपछि केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) मा बैठक बसेर गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको भने मृतक संख्या मात्र उल्लेख गरी ताम्रपत्र राख्ने बिभागीय निर्णय गरिएको हो ।’
सोही निर्णय अनुसार काम अघि बढाउन निर्माण कम्पनीलाई पत्राचार गर्दै मृतकहरुको नामावली कार्यालयले उपलब्ध गराएपछि काम अघि बढेको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले भूकम्पमा ४ सय ९० जनाको ज्यान गएको भन्दै नामावलीसहितको विवरण पठाइसकेको छ । सोही विवरण अनुसार स्तम्भमा नाम लेख्ने काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । अहिले धमाधम काम भइरहेको बताइएको छ । पार्क निर्माणका लागि २०७४ साल मंसिर १४ गते स्वच्छन्द÷होम निर्माण जेभिसँग सम्झौता भएको हो । २०७७ साल जेठ १३ गते काम सक्नुपर्ने भएपनि मृतकको नामावली प्राप्त नभएकै कारण हालसम्म योजना सम्पन्न हुन नसकेको हो ।
पार्कमा भूकम्प अति प्रभावित १४ जिल्लाको छुट्टाछुट्टै स्तम्भ निर्माण गरिएको छ । उक्त स्तम्भमा भूकम्पमा ज्यान गुमाएकाहरुको नाम लेख्ने भनिएको थियो । तर सम्पूर्ण मृतकहरुको आधिकारिक नामावली सम्बन्धित निकायबाट प्राप्त नहुदाँ लामो समय काम रोकिएपनि अहिले पुनः काम सुचारु भएको छ ।



































