उत्तरी गोरखामा पर्ने धार्चे गाउँपालिकाका अधिकांश बिकासे योजना अलपत्र पारेर ठेकेदार गायव छन् । पालिकाको प्रशासनिक भवनदेखि मोटरेवल पुलसम्मका योजनामा ठेकेदारको चरम लापरवाही देखिएको छ ।
तीन बर्षअघि सम्पन्न भइसक्नुपर्ने प्रशासनिक भवनको हालसम्म ५० प्रतिशत पनि काम भएको छैन । पिलरका रडहरु खिया लागिसकेका छन् । करिव पाँच सय बोरा सिमेन्ट प्रयोग गर्न नमिल्ने गरी बिग्रिएर बसेको छ । ठेकेदार गायव भएपछि भवन अलपत्र बनेको पालिकाले जनाएको छ । ५ करोड ३८ लाख लागतमा भवन निर्माण हुन लागेको हो ।
भवन निर्माणको जिम्मा विकोइ–हेमन्त जेभीले पाएको हो । सम्झौता अनुसार तीन बर्षअघि अर्थात २०७९ साल माघ महिनाभित्रै काम सम्पन्न गर्नुपर्ने थियो । त्यसयता दुई पटक म्याद थप भइसक्यो । थपिएको म्याद सकिदा पनि कामको प्रगति शुन्य छ । म्याद थप भएदेखि ठेकेदार गायव भएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । फोन गर्दा सम्पर्कमै आउन नचाहने उनले गुनासो गरे ।
‘नयाँ भवनबाट चाडै नै सेवा दिने इच्छा थियो,’ उनले भने, ‘तर ठेकेदारकै कारण समस्या भयो ।’ हिमपात र ढुवानी समस्याको वहाना बनाउँदै ठेकेदार पन्छन खोजेको उनले बताए । भने, ‘एक त यहाँ हिउ नै पर्दैन, अर्काे रात्री बस संचालन हुने ठाउँमा सामान ढुवानीको समस्या कसरी हुन्छ ? त्यो सबै ठेकेदारको वहाना मात्र हो ।’ ठेक्का तोड्ने तयारीमा रहेपनि खरिद ऐनको १४ औं नियमावली संशोधनले समस्या बनाएको उनले जानकारी दिए ।
पालिकाले हाल भाडाको घरमा कार्यालय संचालन गर्दै आएको छ । ठाउँ पर्याप्त नहुदाँ कार्यसम्पादन र अभिलेख व्यवस्थापनमा समस्या भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । आफ्नै भवन बने आर्थिक व्ययभार कम पर्ने उनको भनाइ छ । ‘अहिले बार्षिक करिव चार लाख रुपैया घरभाडा तिर्नुपर्छ, आफ्नै भवन बन्यो भने त त्यति पैसा बच्ने भयो,’ उनले भने । उनका अनुसार अहिले म्याद थपका लागि भन्दै निर्माण कम्पनीले पालिकामा निवेदन पेश गरेको छ ।

यता बेनिघाट–आरुघाट–लार्के सडक अन्तरगत धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला माथिको मोटरेवल पुल निर्माणको काम पनि अलपत्र छ । आठ महिना अघि सम्पन्न भइसक्नुपर्ने उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी काम भएको छैन । ४ करोड ३५ लाखमा पुल निर्माण गर्न सूर्याेदय कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । गत साउन महिनामै सम्पन्न हुनुपर्ने उक्त पुल अहिले अलपत्र अवस्थामा छ । आउँदो असारसम्मका लागि कार्यालयले म्याद थप गरेको छ । तर अझै काम सुरु भएको छैन ।
काममा ठेकेदारको चरम लापरवाही देखिएको कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । गाडी हिड्ने बैकल्पिक बाटो नहुँदा पनि काममा ढिलाइ भएको उनले जानकारी दिए । ‘बर्खाको बेलामा खोला बढेर काम गर्न सम्भव हुँदैन त्यसले गर्दा पनि ढिला भएको हो,’ उनले भने, ‘ठेकेदार कम्पनीको लापरवाही पनि हो ।’ नौलीखोलामा मोटरेवल पुल बनेपछि माछाखोलासम्म बाहै्र महिना मोटर संचालनमा कुनै समस्या नहुने स्थानीय बताउँछन् ।
सोही खोला नजिकै रहेको नौली झरनामा सिसाको पुल (ग्लास ब्रिज) राख्ने काम पनि सुरु हुन सकेको छैन । यही असार मसान्तभित्र सक्ने गरी ठेक्का सम्झौता भएपनि काम अघि बढेको छैन । गण्डकी प्रदेश र पालिकाको साझेदारीमा पुल निर्माण गर्न लागिएको हो । मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमको ८० लाख र पालिकाको ५० लाख गरी कुल १ करोड २९ लाखमा ठेक्का सम्झौता भएको हो । समय सकिन लाग्दासम्म काम सुरु नगरेको ठेकेदार अहिले भने सम्पर्कमा आएको पालिकाका प्राविधिक नरेन्द्र यादवले बताए । उनका अनुसार ठेकेदारले अहिले निर्माण सामग्रीहरु संकलनको काम गरिरहेको छ । उक्त कामको जिम्मा आइडी सरभाइबर जेभीले पाएको हो ।
झरना नजिकै कुल ३५ मिटर लम्वाईको सिसाको पुल बन्ने छ । झरना हेर्न आउने पर्यटकले उक्त पुल चढेर मज्जा लिन सक्ने पालिका उपाध्यक्ष सुनिला गुरुङ बताउँछिन् । पर्यटन प्रवद्र्धनमा यसले सहयोग पुग्ने उनको अपेक्षा छ । ‘नौली झरना धार्चेको पर्यटकीय स्थलमध्ये एक हो,’ उनले भनिन्, ‘त्यहाँ आएका पर्यटकलाई भुलाउन र थप आकर्षित गर्न पुल बनाउन लागेका हौ ।’ तर समय गुज्रिन लाग्दा समेत ठेकेदारले काम सुरु नगरेको भन्दै उनले गुनासो पोखिन् ।

यता पालिकाको भिसी थमन मार्ग (माछिखोलादेखि सिङ्लासम्मको सडक) स्तरोन्नतीको काम पनि विगत एक महिनादेखि ठप्प छ । अलपत्र पारेर ठेकेदार हिडेपछि काम रोकिएको हो । सडक स्तरोन्नतीका लागि २०८० चैत्र महिनामा बिष्णु साङ्देन एचएसडब्लु जेभीसँग ठेक्का सम्झौता भएको पालिकाका प्राविधिक यादवले बताए । उनका अनुसार आउँदो चैत्र महिनामा काम सक्नुपर्छ । तर हालसम्म कामको प्रगति १८ प्रतिशत मात्र छ । संघको ४ करोड २४ लाख समपुरक बजेटबाट उक्त सडक स्तरोन्नती गर्न लागिएको हो ।कुल ४.५ किलोमिटर दुरीको उक्त खण्डमा केही भाग नयाँ ट्रयाक खोल्ने र बाँकी स्तरोन्नती गरिने बताइएको छ । यस उक्त काममा पनि ठेकेदारको लापरवाही देखिएको छ ।
ठेकेदारकै लापरवाही कारण पालिकाको अधिकांश योजना अलपत्र परेको पालिका अध्यक्ष गुरुङले बताए । धार्चेको बिकास निर्माणमा ठेकेदार नै बाधक बनेको उनको बुझाइ छ ।



































