गोरखा नगरपालिकाभित्र संचालित सहकारी संस्थाहरुमध्ये करिव ३४ प्रतिशत निष्कृय रहेको पाइएको छ । सहकारी अनुगमन समितिले तयार पारेको प्रतिवेदन अनुसार नगरभित्र रहेका ९२ वटा सहकारी संस्थामध्ये ३१ वटा निष्कृय छन् । नगरभित्र रहेका सहकारीहरुको वर्तमान अवस्थाबारे बुझ्न नगरपालिकाले सहकारी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले सहकारीहरुको स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको हो ।
अनुगमनका क्रममा अधिकांश सहकारीहरु ऐन र नियमावलीबारे अनविज्ञ रहेको पाइएको समिति संयोजक रामबाबु श्रेष्ठले बताए । सहकारी संचालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरु आफ्नो जिम्मेवारीबारे अनविज्ञ रहेको समेत पाइएको उनले जानकारी दिए । ‘सहकारी संचालकहरु एउटा संस्थामा एउटा पदमा र अर्काे संस्थामा अर्काे पदमा बसी दोहोरो भूमिकामा रहेको पाइयो, यो गर्न मिल्दैन,’ उनले भने ।
अधिकांश सहकारीहरुले ऐन विपरित विना धितो ऋण लगानी गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । अधिकांश सहकारीको रणनीतिक योजना र आन्तरिक कार्यविधि नभएको र बचत तथा ऋणको मात्र कारोवार गरेको पाइएको बताइएको छ । सहकारी ऐन विपरित केही सहकारीका संचालकहरुले ४९ प्रतिशतभन्दा बढी ऋण लिएको समेत भेटिएको प्रतिवेदनमा उल्लेख छ । वुधवार अनुगमन समितिले नगर प्रमुख कृष्ण रानालाई प्रतिवेदन हस्तान्तरण गर्दै केही सुझाव समेत दिएको छ ।
चौमासिक रुप्मा सबै संस्थाहरुको प्रगति विवरण नगरपालिकालाई बुझाउनुपर्ने, साना साना सहकारीलाई एकीकरण गर्नुपर्ने, सुरक्षाका लागि सिसिटिभीको व्यवस्था गर्ने, ठुलो धन राशी भएको संस्थामा सुरक्षा गार्डको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिइएको समिति संयोजक श्रेष्ठले बताए ।
प्रतिवेदन बुझ्दै नगर प्रमुख रानाले आवश्यक छलफल गरेर प्रक्रिया अघि बढाइने बताए । ‘सहकारीको नियमनका लागि एक प्रकारको तयारी हामीले गरिरहेका थियौ, अव यो प्रतिवदेनले थप सहयोग मिल्छ,’ उनले भने ।



































