विना अनुमति राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको आरोपमा बारपाक दरौँदी हाइड्रो प्रालिका जनसम्पर्क अधिकृत कृष्ण पन्थी पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–२ बल्फेस्थित राष्ट्रिय वन क्षेत्रको रुख अनुमति वेगर कटान गरेकाले पक्राउ गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
‘हाइड्रोबाट उत्पादित बिजुली सम्बन्धित ठाउँमा जोड्नका लागि प्रशारण लाइनमा पर्ने रुखहरु कटान गरेका रहेछन्,’ कार्यालयका एक अधिकृतले भने, ‘निजी जग्गाका रुखहरु काट्ने क्रममा राष्ट्रिय वन क्षेत्रका केही रुखहरु पनि काटेछन् ।’ सूचना पाएलगतै स्थलगत अनुगमन गर्दा राष्ट्रिय वन क्षेत्रमा पर्ने साल, चिलाउने लगायतका जातहरुको रुख काटेको पाइएको उनले बताए ।
उनका अनुसार पन्थीलाई यही जेठ २१ गते पक्राउ गरिएको हो । उनी बिरुद्ध वन पैदावार हानी नोक्सानी शीर्षकमा मुद्धा दर्ता गरी वन ऐन २०७६ अनुसार कानूनी कारवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
कटान भएको काठको परिमाण एकीन भइनसकेको जनाउँदै कार्यालयले विवरण संकलनको काम भइरहेको जनाएको छ । ‘अनुसन्धान जारी छ, यो कार्यमा अरु पनि संलग्न भए उनीहरुलाई पनि कारवाही प्रक्रियामा ल्याउँछौ,’ एक अधिकृतले भने ।



































