रैथाने वाली र स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उदेश्यसहित पालुङटारमा अकवरे मल्टिएग्रो फार्म संचालनमा आएको छ । बिमला बिनिष्मा फाउडेण्सनले पालुङटारको ठाटीपोखरीमा गत जेठ ३० गतेबाट फार्म संचालनमा ल्याएको हो ।
करिव साढे दुई रोपनी जग्गा लिजमा लिइएको हो । केही भागमा अकवरे खुर्सानी लगाइएको छ । अकवरे खुर्सानीलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य सहित खेती बिस्तारको योजना समेत रहेको फाउण्डेसनका कार्यक्रम संयोजक सुदिप पन्तले बताए ।
‘खाजा घर जस्तो पनि संचालन गरेका छौ,’ उनले भने, ‘यहाँ चियासँगै अर्गानिक खाजाका परिकारहरु पाइन्छ ।’ स्थानीय स्तरमा उत्पादित कोदोको मम, साग र धनियाबाट बनाइने हरियो चाउमिन लगायतका परिकारहरु पाइने उनले जानकारी दिए ।
‘यहीको लोकल दुध किनेर दही, मोही, लगायतका दुधजन्य पदार्थहरु पनि बिक्री गर्ने गरेका छौ,’ उनले भने । स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजार व्यवस्थापन गर्ने उदेश्यसहित फार्म संचालन गरिएको उनले बताए । भने, ‘उत्पादन, संकलन र बजार व्यवस्थापन हाम्रो मुख्य लक्ष्य हो ।’ संकलन केन्द्र निर्माणको तयारी समेत भइरहेको उनको भनाइ छ । उक्त फार्ममा अहिले पाँच जनाले रोजगार समेत पाएका छन् ।
पालुङटार नगरपालिका–६ कमलटार घर भई हाल अस्ट्रेलिया बस्दै आएका प्रकाशजंग पन्तले उक्त फाउण्डेसन खोलेका हुन् । उनी र उनको परिवारले कमाएको रकमको केही हिस्सा पन्तले उक्त फाउण्डेसनमा जम्मा गर्छन् । यसरी संकलन भएको रकम उनले आफ्नो जिल्लाको सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।
उक्त फाउण्डेसनले बिद्यार्थीलाई छात्रवृत्तिसँगै व्यवसायिक रुपमा कृषि पेशा अंगाल्न चाहनेलाई बिना ब्याज ऋण समेत उपलब्ध गराउदै आएको छ ।



































