आइतवार जिल्लाका अधिकांश ठाउँमा देखिएका रोपाईका दृश्यमध्ये पालुङटार नगरपालिका–१ बेलवासको दृश्य भने अलि रोचक थियो । हातमा कोदालो लिएर डा. बाबुराम भट्टराई आफ्नै खेतमा बाउसे गर्न व्यस्त देखिन्थे । उनकी धर्मपत्नी हिसिलायामी पञ्चेबाजाको तालमा नाँच्दै बाबुरामलाई साथ दिइरहेकी थिइन् ।
रोपाईकै लागि बिहान काठमाडौंबाट गृह जिल्ला आएका डा. भट्टराईले केहीबेर बाउसे गरे अनि बिउ रोप्न थाले, केही खेताला र स्थानीयको साथमा । कृषिमा आधुनिकिकरण गर्नुपर्ने भन्दै यो बर्ष उनले आफ्नो खेतमा गोरुको सट्टा ट्याक्टर प्रयोग गरे । ‘पहिले यही खेत गोरुले जोत्थ्यो,’ उनले भने, ‘तर कृषिमा आधुनिकिरण गर्नुपर्छ भनेर यो बर्ष ट्याक्टर प्रयोग गरे ।’

कृषिमा आधुनिकिकरण गर्न नसक्दा पर्याप्त उत्पादन र रोजगारी दिन नसकेको भन्दै उनले परम्परागत ढंगबाट हुने खेतिलाई परिमार्जन गर्नुपर्ने बताए । उन्नत जातको बिउबिजन प्रयोग गर्न पनि उनले सुझाव दिए । कृषिको आधुनिकिकरणबाट नै नेपालमा रोजगारीको सृजना हुने उनले धारणा राखे । भने, ‘सबै कृषिमा लागेर हुदैन, करिव २५ प्रतिशत युवाहरुलाई आधुनिक ढंगको खेतिपाती गर्न सिकाउन सकियो भने कृषिको रुपान्तरणबाट देशको अर्थतन्त्रको आधार बन्छ । यही सन्देश दिनका लागि म बर्षेनी सांकेतिक रुपमा कहिले गोरखा कहिले अन्य जिल्ला पुग्ने गरेको छु, यो बर्ष गोरखा आए ।’

राजनीतिक प्रसंग जोड्दै भट्टराईले नेपालको राजनीतिमा दोहोरो मापदण्ड स्थापित भएको बताए । आफूलाई ठुलै क्रान्तिकारी भन्ने तर व्यवहारमा बिलासी बन्ने प्रवृति हावी बनेको भन्दै उनले असन्तुष्टी जनाए । ‘बाहिरी जीवन एउटा भित्री जीवन अर्काे जुन दोधारे प्रवृति समाजमा बढेको छ अत्यन्त चिन्ताजनक छ,’ उनले भने, ‘गमलामा रोपाई गर्ने होइन खेतमा गएर रोप्ने हो, यो प्रवृति बदल्न पर्छ भनेर म सधै खेतमा आउछु ।’



































