गोरखाको सिरानचोक गाउँपालिका वडा नम्वर ५ र धार्चे गाउँपालिका वडा नम्वर ६ को कार्यालय महिनौदेखि वडाध्यक्षविहीन छन् । करिव एक बर्षअघि विदेश गएका दुवै वडाध्यक्षहरु अझै फर्किएका छैनन् ।
सिरानचोक–५ का वडाध्यक्ष ठानेश्वर पोखरेल गत असारमा बर्खे अधिवेशन सकेर अमेरिका गएका थिए । त्यसयता उनी फर्किएका छैनन् । लामो समयसम्म कार्यालय नफर्केपछि वडाध्यक्षको पद खारेजीको माग राख्दै स्थानीयले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
‘गत असारमा वडा सदस्य रामचन्द्र पोखरेललाई कार्यबाहक तोकेर अमेरिका जानु भएको थियो’, स्थानीय बिष्णु पोखरेलले भने, ‘गत माघमा आएर फेरि उहाँलाई नै असारसम्मका लागि कार्यभार सुम्पिएर जानु भएको रहेछ ।’
गत असारदेखि वडाध्यक्ष पोखरेल आफ्नो सम्पर्कमा नरहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए । वडाध्यक्षलाई कारवाहीको माग गर्दै स्थानीयहरु आउने गरेको उनले जानकारी दिए । ‘कारवाही स्वरुप हामीले कार्यपालिका सदस्यबाट निलम्वन गर्न मिल्छ तर उहाँको वडाध्यक्ष पद खारेज गर्ने अधिकार हामीलाई छैन,’ उनले भने, ‘स्थानीयहरु भने कारवाही गर्न प¥यो भन्दै पालिका धाइरहनुभएको छ ।’ लामो समयदेखि विना जानकारी कार्यालयमा उपस्थित नभएपछि गत फागुन महिनाबाट पोखरेलको सेवा सुविधा रोक्का गरिएको पालिका अध्यक्ष गुरुङले बताए ।
यता धार्चे गाउँपालिका–६ का वडाध्यक्ष धनकुमार घले पनि करिव दश महिनादेखि वडा कार्यालय आएका छैनन् । गत भदौ महिनामा बेलायत गएका उनी उतै बसेका छन् । वडा सदस्य रविन्द्र घिमिरेलाई कार्यवहाक दिएर उनी गत भदौ १२ गते बेलायत गएका हुन् ।
लामो समयदेखि वडामा अनुपस्थित हुनुको कारणबारे स्पष्ट खुलाई पठाउन गाउँपालिका कार्यालयले वडा कार्यालयलाई पत्राचार गरेका थियो । तर जवाफ नआएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘वडाध्यक्षसँग म्यासेन्जरमा कुरा भएको थियो, अव आउदिन भन्यो,’ उनले भने, ‘लिखित रुपमा पत्र पठाउनुस् भनेको तर अहिलेसम्म पठाएको छैन ।’
लामो समयदेखि कार्यालयमा उपस्थित नभएपछि विगत पाँच महिनादेखि वडाध्यक्ष घलेको सेवा सुविधा रोक्का गरिएको पालिकाले जनाएको छ ।



































