जिल्लामा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको गत तीन बर्षको तथ्याङ्क अनुसार नागरिकताभन्दा राहदानी लिनेको संख्या बढ्दो छ ।
तथ्याङ्क अनुसार कार्यालयबाट आर्थिक बर्ष २०८१/८२ मा ७ हजार ७६६ जनाले वंशजको आधारमा नागरिकता लिएका छन् । वैवाहिक अंगीकृत नागरिकता लिने १६ जना र आमाको नामबाट नागरिकता लिने १० जना छन् । गैर आवासीय नागरिकता लिने २६ जना र नागरिकताको प्रतिलिपि लिने ८ हजार ३२७ जना छन् । तर त्यो बर्ष ११ हजार ८२ जनालाई ई पासपोर्ट वितरण गरिएको छ भने ९ हजार ७९८ जनाको ई पासपोर्ट फारम संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । त्यस्तै ३ सय ४० जनालाई एमआरपी राहदानी वितरण गरिएको उनले जानकारी दिए ।
आर्थिक बर्ष २०८०/८१ मा वंशजको आधारमा नागरिकता लिने ८ हजार ३५९ जना छन् । वैवाहिक अंगीकृत नागरिकता लिने ८, आमाको नामबाट नागरिकताले लिने १३ र गैर आवासीय नागरिकता लिने ५६ जना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ८ हजार १०५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । तर राहदानी लिनेको संख्या भने १३ हजार १५८ (ई–पासपोर्ट १२,८४२ र एमआरपी राहदानी ३१६) रहेको छ । १२ हजार ४२९ जनाले ई–पासपोर्ट फारम भरेका छन् ।
आव २०७९/८० मा १० हजार ७६ जनाले वंशजको आधारमा नागरिकता लिएका छन् । वैवाहिक अंगीकृत नागरिकता लिने १० जना छन् भने ११ हजार ९४३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । त्यो बर्ष राहदानी लिनेको संख्या भने १३ हजार १३० जना रहेका छन् । जसमध्ये ३ सय १६ जनालाई एमआरपी राहदानी र बाँकीलाई एमआरपी राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । सो बर्ष १४ हजार ४३५ जनाको ई–पासपोर्ट फारम संकलन गरिएको बताइएको छ ।



































