गोरखा अस्पतालमा रेविज बिरुद्धको खोप सधै अभाव हुने गरेको छ । लामो समयदेखि खोप अभाव हुदैँ आएको अस्पतालले जनाएको छ ।
‘करिव ७–८ महिना भ्याक्सिन नै भएन,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिदार्थ खनालले भने, ‘यही असारको अन्तिमतिर ८० भाइल आएको थियो, केही दिनमै सकियो ।’ विगत एक महिनादेखि फेरी अस्पतालमा खोप नभएको उनले बताए ।
अस्पतालको तथ्याङ्क अनुसार दैनिक ५–६ जना (कुकुरले टोकेका बिरामी) रेविज विरुद्धको खोप लगाउन आउँछन् । खोप अभावले निजी क्लिनिक धाउन उनीहरु बाध्य छन् । उक्त खोप अस्पतालमा निशुल्क पाइन्छ । तर निजी स्वास्थ्य संस्थाबाट करिव ६ सय रुपैया तिरेर स्थानीयले खोप किन्नु परेको छ । सो कुरा अस्पतालले पनि स्वीकार गर्छ ।
‘दैनिक रुपमा खोप लगाउन बिरामी आउछन् तर नभएर फर्काइदिने गरेका छौ,’ खनालले भने, ‘बाहिर निजी फार्मेसीबाट किनेर ल्याएमा लगाइदिने गरेका छौ ।’
विगत एक बर्षदेखि खोप अभाव हुदैँ आएको उनले बताए । केन्द्रले खोप खरिद गरेर प्रदेश मार्फत जिल्ला पठाउने भएकाले समस्या भएको उनको भनाइ छ । ‘हामीलाई लिमिटेड स्टकमा दिन्छन्, भनेको समयमा आउँदैन, आवश्यकता अनुसारको मात्रा हुदैन अनि सधै अभाव हुन्छ,’ उनले भने । गोरखा मात्र नभइ अन्य जिल्लाका सरकारी अस्पतालमा यो समस्या रहेको उनले जानकारी दिए ।
अस्पतालका मेडिकल रेकर्ड सुपराइजर तिलक आचार्यका अनुसार गत आर्थिक बर्ष एक हजार १ सय ६० जना (इमरजेन्सीमा आएका बिरामीवाहेक) लाई रेविज विरुद्धको खोप लगाइएको थियो । अघिल्लो बर्ष भने करिव ८ सय जनालाई खोप लगाइएको थियो ।
बर्षेनी बिरामीको संख्या बढेपनि पर्याप्त मात्रामा खोप आपूर्ती नहुदाँ समस्या हुने गरेको उनको भनाइ छ । गत आव करिव ११ सय भाइल खोप मात्र आएको अस्पतालले जनाएको छ ।



































