जिल्लाका नेवार समुदायले यस बर्षपनि मकै सुकाउने पर्व धुमधामले मनाएका छन् । गोरखा नगरपालिका–६ ठुलोआँगनमा बिभिन्न थरिका अन्न जुनको प्रकाशमा सुकाएर पर्व मनाइएको हो । भुटेको मकै, बदाम, भटमास, चना, केराउ लगायतका अन्न सुकाइएको ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिले जनाएको छ ।
‘स्थानीय आ–आफ्नो घरबाट बिभिन्न थरिका अन्नवाली लिएर आउनुहुन्छ,’ समिति अध्यक्ष सुरेशमान श्रेष्ठले भने, ‘त्यसलाई चन्द्रमाको प्रकाशमा सुकाएर प्रसादको रुपमा बाडेर खाने प्रचलन छ ।’ कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले अन्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको श्रेष्ठले बताए ।
यसरी सुकाएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको उनको भनाइ छ ।
यसअघि नेवार समुदायले परम्परागत रुपमा आ–आफ्नो घरमा अन्न सुकाउने प्रचलन थियो । २०७६ सालदेखि समितिको अगुवाईमा सामूहिक रुपमा अन्न सुकाउने पर्व मनाउन थालिएको बताइएको छ । पर्वको अवसरमा भजनसँगै चुट्का नाँच पनि लगाइएको थियो ।



































