आसन्न निर्वाचनमा जिल्लाका ८३ वटा मतदानस्थल अति संवेदनशिल मानिएको छ । सुरक्षाको दृष्टिकोणबाट जिल्ला सुरक्षा समितिले ती मतदानस्थललाई अति संवेदनशिलमा राखेको हो ।
त्यस्तै १ सय ३० मतदान स्थल संवेदनशिल र ११ सामान्य रहेको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताए । निर्वाचन क्षेत्र नम्वर २ का मतदानस्थलहरु बढी अति संवेदनशिल देखिएको उनले जानकारी दिए । संवेदनशिलताको आधारमा बिशेष रणनीति बनाएर सुरक्षा व्यवस्था गरिने उनको भनाइ छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आसन्न निर्वाचनका लागि जिल्लामा कुल २ सय २५ मतदानस्थल र ३ सय ३१ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्वर १ मा १३१ मतदान स्थल र १८१ मतदान केन्द्र छन् भने क्षेत्र नम्वर २ मा ९४ मतदान स्थल र १५० मतदान केन्द्र छन् ।
कुल मतदाता १ लाख २० हजार ५२५ मतदाता रहेको क्षेत्र नम्वर १ मा कांग्रेसबाट प्रेम खत्री, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुदन गुरुङ लगायतका उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।
क्षेत्र नम्वर २ बाट भने कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपाका लेखनाथ न्यौपाने, एमालेका मिलन गुरुङ (चक्रे मिलन), रास्वपाका कविन्द्र बुर्लाकोटी लगायतले उम्मेदवारी दिएका छन् । सो क्षेत्रको कुल मतदाता संख्या १ लाख ८ हजार ५३३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



































