आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ बाट प्रत्यक्षतर्फका उम्मेदवारमध्ये एक हुन् हरिराज अधिकारी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेर संसद छिरेका थिए । अहिले पुनः सांसद बन्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका छन् ।
गोरखाको गण्डकी गाउँपालिका–५ दर्वुङस्थित अलैचेमा जन्मेका उनको बाल्यकाल गाउँमै वित्यो । भवगती माविमा कक्षा ७ को अध्ययन पश्चात उनी बिजय भवानी मावि मकैसिङ गए । कम्युनिष्ट शिक्षा प्रचार गरेको भन्दै उनलाई बिद्यालयले ‘रेष्टिकेट’ ग¥यो । ‘त्यतिबेला म कक्षा ९ मा पढ्थे,’ अधिकारीले भने, ‘कम्युनिष्ट शिक्षा प्रचार ग¥यो, अवैध गतिविधी संचालन ग¥यो भनेर मलाई रेष्टिकेट गरे, अनि घ्याच्चोक गएर एसएलसी दिए ।’
अध्ययनलाई निरन्तरता दिन उनी गोरखा क्याम्पसमा आइएड भर्ना भए । ब्याक पेपर भएका कारण उनी नेपालगंज गए र महेन्द्रबहुमुखी क्याम्पसमा पुनः आइएडमा भर्ना गरे । आइएड पश्चात गोरखा क्याम्पस आए र बिएडमा भर्ना भए, त्यहीबाट स्नातक तह उर्तिण गरे ।
उनको राजनीतिक यात्रा २०४१ सालबाट सुरु भएको हो । नेकपा मसालको पार्टी सदस्यता लिएर उनी राजनीतिमा होमिएका थिए । २०४५ सालमा पार्टीको जिल्ला सदस्य हुदै २०४७ सालमा तत्कालिन जनमोर्चाको जिल्ला सचिव भए । २०४३ सालदेखि ०४५ सालसम्म गोरखा क्याम्पसको स्ववियु सभापति समेत भए ।
२०५४ सालमा पार्टीको उपब्यूरो सदस्य बनेका उनी केन्द्रिय सदस्य हुदै जनयुद्धको समयमा ब्रिगेड कमिसार समेत बनेका थिए । राजनितिक यात्राको क्रममा बिभिन्न जिल्लामा रहेर उनले पार्टी प्रमुखको भूमिका समेत निर्वाह गरे । पार्टीको केन्द्रीय समितिमा निरन्तर रहदै आएका उनी जनयुद्धका घाइते समेत हुन् । २०६१ सालमा म्याग्दीको बेनी र सिन्धुपाल्चोकको चौतारा आक्रमणमा उनी घाइते भएका थिए । शरिरका बिभिन्न भागमा गोलीको छर्रा लागेको उनी बताउँछन् ।
२०७४ सालको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई पराजित गरेर चुनाव जितेका अधिकारीलाई यो पटकको चुनाव जित्न त्यही सहज देखिदैन । त्यो बेला एमालेको साथ पाएका उनलाई पो पटक भने आफ्नो पार्टीका मतदाताकै भोटको भरमा चुनाव जित्नुपर्ने चुनौती छ । यसअघि माओवादी र कांग्रेस मुख्य प्रतिस्पर्धी रहदै आएको सो क्षेत्रमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको छ । रास्वपाका उम्मेदवार सुधन गुरुङ, कांग्रेसका प्रेम खत्री र एमालेका आरसी लामिछाने उनका मुख्य प्रतिस्पर्धीको रुपमा देखिन्छन् ।
चुनावी गठबन्धनका कारण २०७९ सालको निर्वाचनमा माओवादीले सो क्षेत्र कांग्रेसलाई छाडेर आफूले निर्वाचन क्षेत्र नम्वर २ लिएको थियो । प्रचण्ड गोरखा–२ बाट उठेर बिजयी बनेका थिए भने १ बाट कांग्रेसका राजेन्द्र बजगाई बिजयी भएका थिए । तर अहिले दलहरुबीच चुनावी गठबन्धन छैन । आफ्नै पार्टीका मतदाताको भोटमा जित खोज्नुपर्ने अवस्था छ ।
यसअघि सो क्षेत्रबाट चुनाव जितिसकेका अधिकारी विगतका आफ्ना अनुभव र आफूले थालनी गरेका बिकास निर्माणका कामहरु नै मुख्य जित्ने आधार रहेको बताउँछन् । ‘म निर्वाचित हुदाँ र नहुदाँको काम हेरे हुन्छ,’ उनी भन्छन्, ‘मेरो पालामा वेनिघाट लार्के सडक र बुढीगण्डकी मुआब्जा वितरणको कामले तिव्रता पाएको थियो ।’ आफ्ना पालामा सकारात्मक कामको सुरुवात भएको भन्दै विगतका अनुभव प्रयोग गर्ने अवसर जनताले दिने अपेक्षा उनले गरेका छन् ।
चुनाव खर्च गरेर नभई स्वच्छ प्रतिस्पर्धाबाट जनताको मत पाएर जित्ने कुरा रहेको उनले जिकिर गरे । अन्य प्रतिस्पर्धीबारे खासै बोल्न नरुचाएका उनी सुधन गुरुङलाई भने राजनीतिक यात्राका लागि शुभकामना दिदै देशको बिकास निर्माणमा अघि बढ्न सुझाव दिए । भने, ‘युवा अवस्थामा राजनीतिमा प्रवेश गर्नुभयो, त्यो राम्रो हो । उहाँको यात्रा दिगो होस्, देशको बिकासमा अघि बढ्नुस् भन्ने शुभकामना छ ।’ तर कसलाई छान्ने जनताले फैसला गर्ने उनले बताए ।
घोषणापत्र सार्वजनिक
आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट गोरखा–१ मा उम्मेदवारी दिएका हरिराज अधिकारीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । शनिवार उनले सार्वजनिक गरेको घोषणापत्रमा बुढीगण्डकी जलबिद्युत आयोजनादेखि बेनिघाट लार्केसम्मका योजना समावेश छन् ।
बुढीगण्डकी आयोजना निर्माणमा पहल गर्ने बताउँदै उनले बेनीघाट आरुघाट लार्के सडक सम्पन्न गर्न जोड दिने प्रतिबद्धता व्यक्त गरे । सिउरेनटार बुट्टार करनटार रामशाहघाटसम्म पृथ्वीराजमार्गको वैकल्पिक बाटो निर्माण गर्ने, गोरखा बजारलाई व्यवस्थित गर्न बृहत गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने तथा जिल्लालाई पर्यटन हवका रुपमा विकास गर्न गुरुयोजना निर्माणमा जोड दिने उनको घोषणा पत्रमा उल्लेख छ ।
‘उत्तरी गोरखालाई अलग जिल्ला बनाउनुपर्ने माग, जनताको मनोविज्ञान र आवश्यकताप्रति प्रतिबद्ध हुँदै संवैधानिक व्यवस्था अनुरुप स्वायत्त वा विषेश क्षेत्र घोषणा गर्न सशक्त पहल गर्नेछु’, घोषणापत्र सार्वजनिक गर्दै अधिकारीले भने । बिभिन्न जाति तथा समुदायको अधिकार सुनिश्चित गर्न संरक्षित क्षेत्र निर्माणमा सशक्त पहल गर्ने उनले बताए ।
जोखिमपूर्ण बस्ती स्थानान्तरणसँगै आधुनिक र परिणाममुखी शिक्षा नीति अबलम्बनमा जोड दिने उनले जानकारी गराए । मनासलु क्षेत्र आउने पर्यटकले गोरखा सदरमुकामबाट अनुमति पत्र लिनुपर्ने र आँबुखैरेनीदेखि गोरखा सडक मापदण्ड हल गर्ने उनको घोषणापत्रमा उल्लेख छ । तिब्बत जोड्ने दुई वटा नाकाहरु : रुइला र ङुइला नाका नियमित रुपमा संचालन गर्ने योजना उनको छ ।
उत्तरी गोरखाको निषेधित क्षेत्र खुला गर्ने एवं बुढीगण्डकी कोरीडोरमा २२० केभी ट्रन्समिसन लाइन निर्माण गर्ने प्रतिबद्धता उनले गरेका छन् ।



































