छिटपुट घटनावाहेक गोरखामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । तर अघिल्ला निर्वाचनभन्दा यो पटक कम मत खसेको छ । करिव ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कुल २ लाख २९ हजार ५८ मतदातामध्ये १ लाख २१ हजार २६३ जनाले मात्र मतदान गरेका छन् ।
गोरखा–१ मा ६४ हजार ५ र गोरखा–२ मा ५७ हजार २५८ मत खसेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए । उनका अनुसार गोरखा–१ मा १ लाख २० हजार ५२५ र गोरखा–२ मा १ लाख ८ हजार ५३३ कुल मतदाता संख्या हुन् ।
२०७४ सालको निर्वाचनमा ६५.३ प्रतिशत मत खसेको थियो भने २०७९ को निर्वाचनमा ५२.७७ प्रतिशत मत खसेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यो पटक त्यो भन्दा कम मत खस्यो । यस पटकको निर्वाचनका लागि २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र निर्धारण गरिएको थियो । एउटा मतदान स्थलमा तीन वटासम्म मतदान केन्द्र थिए ।
अहिले मतगणना स्थलसम्म मतपेटिका ल्याउने काम भइरहेको छ । सदरमुकाम आसपास रहेका केही मतदान केन्द्रबाट मतपेटिका समेत आइसकेको छ । गोरखा–१ को मतगणना जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भू तथा जलाधार व्यवस्थापन कार्यालयमा हुने छ । तारजाली र सीसीटिभीजडित मतगणनास्थल समेत तयार भइसकेको बताइएको छ ।
उत्तरी गोरखाको २३ वटा मतदान केन्द्रको मतपेटिका भने शुक्रवार हेलिकप्टर मार्फत ढुवानी हुने छ । ‘अन्य मतदान केन्द्रको मतपेटिका आज राती अवेरसम्म आइपुग्ला,’ कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘हेलिबाट ल्याउने मतपेटिका भने भोली मात्र ढुवानी हुन्छ ।’
दुवै निर्वाचन क्षेत्रको मतगणना एकसाथ गर्ने वा नगर्ने भन्ने बिषयमा निर्णय भइसकेको छैन । भौगोलिक बिकटताको हिसावले गोरखा–१ भन्दा गोरखा–२ को मतपेटिकाहरु चाडै ढुवानी हुन्छन् । निर्वाचन आयोगसँग सोधेर निर्णय गरिने मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले बताए ।



































