शोकमा रहेका एकै परिवारका ६ जनासहित १३ किरियापुत्रीले बिहीवार जिल्लामा मतदान गरेका छन् । गोरखा नगरपालिका, गण्डकी गाउँपालिका र पालुङटार नगरपालिकाका मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।
गोरखा नगरपालिका–१ ताप्लेस्थित डाँडागाउँ निवासी भीमप्रसाद भट्ट, कमलप्रसाद भट्ट, दिपक भट्ट, शुशिला ढुंगाना, कल्पना भट्ट र सिता भट्टले ताप्ले बिन्दिचौरस्थित जनज्योती मावि मतदान केन्द्र पुगेर मतदान गरेका छन् । ७१ बर्षीय रनुमायाको यही फागुन १४ गते निधन भएपश्चात उनीहरु किरिया बस्दै आएका छन् । भीमप्रसाद, कमल र दिपक रनुमायाका छोराहरु हुन् भने कल्पना र सिता बुहारीहरु हुन् । शुशिला भने उनको छोरी रहेको परिवार स्रोतले जनाएको छ ।
त्यस्तै किरिया बस्दै आएका पालुङटार नगरपालिका–६ का कृष्णबहादुर आले, रनबहादुर आले र शिला आलेले पनि मतदान गरेका छन् । बिरभद्र आवि मतदान केन्द्रबाट उनीहरुले मत दिएका हुन् ।
गण्डकी गाउँपालिकाका किरियापुत्री कमल गुरुङ पनि मतदानमा सहभागी भएका छन् । पानपा–२ स्थित महादेव आवि मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन् । यता गोरखा नगरपालिका–८ का चार जना किरियापुत्रीले पनि आफ्नो मतदान केन्द्र ओल्ड क्यापिटल मावि पुगेर मत दिएका छन् ।



































