डिभिजन वन कार्यालयले डेढ बर्षको अवधीमा सात वटा वन्यजन्तुको उद्धार गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट उद्धार गरेर उनीहरुलाई सुरक्षित वासस्थानमा छाडिएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार गत बर्ष चार वटा वन्यजन्तुको उद्धार भएको थियो । आरुघाट गाउँपालिका–९ धमलाचोकबाट कालो शालक, आरुघाट गाउँपालिका–७ चुरुङबाट चरी बाघ र पालुङटार नगरपालिका–७ च्याङ्लीबाट चितुवा (करिव चार महिनाको बच्चा) लाई उद्धार गरिएको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए । उद्धार गरेर उनीहरुलाई सुरक्षित वासस्थानमा छाडिएको उनले जानकारी दिए ।
त्यस्तै चालु बर्षको हालसम्म अजिङगर, रतुवा मृग र चितुवाको उद्धार भएको कार्यालयले जनाएको छ । गण्डकी गाउँपालिका–२ आमडाँडा सामुदायिक वनमा भेटिएको अजिङगरलाई चितवनको रामनगर पठाइएको छ । सोही गाउँपालिका वडा नम्वर ८ मा घाइते अवस्थामा फेला परेको रतुवा मृगलाई उपचार पश्चात सुरक्षित वासस्थानमा छाडिएको कार्यालयले जनाएको छ ।
वेवारिसे अवस्थामा भीमसेन थापा गाउँपालिका–३ बेलबोटेमा फेला परेको रतुवा मृगलाई पचभैया प्राणी उद्यान तथा वन्यजन्तु उद्धार केन्द्रमा हेरचाहका लागि पठाइएको कार्यालय प्रमुख शाण्डिल्यले बताए । बारपाक सुलिकोट गाउँपालिका–८ स्थित पात्ले गैरीछापमा घाइते अवस्थामा फेला परेको चितुवालाई उद्धार गरेर सोही केन्द्रमा पठाइएको उनले जानकारी दिए ।
यता डेढ बर्षको अवधिमा चार वटा वन्यजन्तु मृत अवस्थामा फेला परेको उनको भनाइ छ । तीन वटा चितुवा र एक निर बिरालो मृत अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । गोनपा–१० ढापधारा, बारपाक सुलिकोट–८ पात्ले गैरीछाप र गोनपा–४ फिनाममा चितुवा एवं पानपा–४ मा निर बिरालो मृत फेला परेको बताइएको छ । उनीहरुलाई सरोकारवालाहरुको रोहवरमा खाडल खनेर गाडिएको कार्यालयले जनाएको छ ।
त्यस्तै दुई वटा वन्यजन्तुको भने उपचारको क्रममा मृत्यु भएको छ । गोनपा–८ मा भेटिएको निर बिरालो र शहिदलखन गाउँपालिका–३ कानटार चिसापानीमा भेटिएको रतुवा मृगको उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।



































