जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीमा नियम विपरित जडान गरिएका प्रेसर हर्न र लाइटहरु हटाउने अभियान थालेको छ । बढ्दो ध्वनी प्रदुषण र सम्भावित सडक दुर्घटनालाई मध्यनजर गर्दै सोमवारबाट अभियान थालिएको कार्यालयले जनाएको छ ।
‘आज १२ वटा सवारीको प्रेसर हर्न र आठ वटा सवारीको लाइट निकाल्यौ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरज अर्यालले भने, ‘एक पटकलाई सचेत गराएका छौ, फेरी जडान गरेको पाइएमा कारवाही गर्छाै ।’ अभियान अन्तरगत जिल्लाका बिभिन्न ठाउँमा छड्के चेकजाँचलाई तिव्र पारिएको उनले बताए । नियम विपरित प्रेसर हर्न जडान गरी अनावश्यक रुपमा बजाएर ध्वनी प्रदुषण गरेको गुनासो बढेपछि अभियान थालिएको उनले जानकारी दिए ।
अनाधिकृत रुपमा जडित लाइटहरुले रातको समयमा अन्य सवारीलाई असर गर्ने र दुर्घटनाको जोखिम बढाउने भएकाले हटाउन थालिएको अर्यालको भनाइ छ ।
यता सवारी दुर्घटना बढी हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ को रुपमा पहिचान गर्दै कार्यालयले चेतावनीमूलक बोर्ड समेत राखेको छ । केही समयअघि गोरखा–आँवुखैरेनी सडकखण्डको ठिँगुरेस्वाँरास्थित नाम्जालीडाँडा, बिरेन्चोक र गोरखा–आरुघाट सडखण्डकको फिनाममा चेतावनीमूलक बोर्ड राखिएको कार्यालय प्रमुख अर्यालले बताए ।
‘तीन बर्षको अवधिमा मृत्यु वा गम्भिर घाइते हुने गरी कम्तिमा पाँच वटा दुर्घटना भएमा क्षेत्रलाई ब्ल्याक स्पटको रुपमा पहिचान गरेर चेतावनीमूलक बोर्ड राख्ने हो,’ उनले भने, ‘ती ठाउँहरुको पहिचान गरी बोर्ड राखेका हौ ।’ दुर्घटना न्यूनिकरण गर्ने मुख्य उदेश्य रहेको उनले जानकारी दिए ।
तिव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि गति नियन्त्रण बोर्ड समेत राखिएको उनले बताए । ‘टक्सारदेखि बिरेन्चोकको ओरालो क्षेत्र र फिनामको एसघुम्तिमा गति सिमिति लेखिएको बोर्ड पनि राखेका छौ, त्यहाँ लेखिएकोभन्दा बढी गतिमा सवारी चलाए कारवाही गर्छाै,’ उनले भने । दुर्घटना जोखिम क्षेत्रलाई मध्यनजर गर्दै उक्त गति निर्धारण गरिएको उनले बताए ।



































