गण्डकी प्रदेश सरकारद्धारा विनियोजित बजेटबाट गोरखामा निर्माणाधिन दुई मोटरेवल पुल समय अगावै सम्पन्न भएको छ । गोरखा नगरपालिका–१२ र शहिद लखन गाउँपालिका–१ जोड्ने लुदी खोला पुल र पालुङटार नगरपालिका–९ शेरास्थित चुक्ति खोला पुलको शनिवार एक कार्यक्रमकाबीच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।
स्याउली बजार हुदै मनकामना जाने सडकखण्डमा निर्माण भएको लुदी खोला पुलको कुल लागत ७ करोड ५९ लाख रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । दुई बर्षमा काम सम्पन्न गर्नेगरी २०८२ साल असार २२ गते गणेशकुण्ड इन्फास्ट्रक्चर एण्ड बिल्र्डर प्रालिसँग सम्झौता भएपनि एक बर्ष अगावै काम सम्पन्न भएको कार्यालय प्रमुख सन्तोष अर्यालले बताए ।
‘२०८४ सालको असारसम्म म्याद थियो,’ उनले भने, ‘तर एक बर्ष अघि नै काम सम्पन्न गर्नुभयो ।’ समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई कार्यालयले सम्मान समेत गरेको छ । पुल उद्घाटन कार्यक्रमको अवसर पारेर निर्माण कम्पनीका प्रोपराइटर राजेन्द्र थपलियालाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको कार्यालयले जनाएको छ । प्रि–स्ट्रेस, टि–बिम प्रकारको उक्त पुलको कुल लम्वाई ३० मिटर र चौडाई ८.४० मिटर रहेको छ ।

उद्घाटन पश्चात बोल्दै मुख्यमन्त्री पाण्डेले पुल निर्माणले स्थानीय कृषि उत्पादनलाई बजारसम्म जोड्न सहज भएकाले उत्पादन केन्द्रित हुन स्थानीयलाई आग्रह गरे । प्रसिद्ध धार्मिक स्थल मनकामना जोड्ने छोटो बाटो भएकाले पनि सवारी आउजाउमा उक्त पुलले निकै सहज हुने धारणा उनले व्यक्त गरे ।
‘यो पुल बनाउनु अघि साठीमुरेमा बनाउने की यहाँ बनाउने भन्ने विवाद थियो,’ उनले भने, ‘मैले यो पटक यहाँ, अर्काे पटक साठीमुरेमा बनाउने भनेपछि विवाद मिलेको हो ।’ साठीमुरेमा पुल बनाउनका लागि यो बर्ष बजेट विनियोजन भएको उनले जानकारी दिए । पुल निर्माणसँगै सडक स्तरोन्नतीका लागि पनि प्रदेश सरकारले पहल गर्ने उनले बताए । प्रदेशका योजनामा बजेटको अभाव नहुने भन्दै निर्धक्क भएर काम गर्न उनले निर्माण व्यवसायीहरुलाई निर्देशन समेत दिएका छन् । उक्त पुलबाट गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका स्थानीय बढी लाभान्वित हुने छन् । मनकामना जाने भक्तजनका लागि पनि निकै सहज हुने अपेक्षा गरिएको छ ।
शनिवार नै उद्घाटन भएको पालुङटारको चुक्ति खोला पुलको कुल लागत ३ करोड ४२ लाख रहेको छ । २० मिटर लम्वाई र ८.४० मिटर चौडाई रहेको उक्त पुल निर्माणका लागि २०८२ साल असार २२ गते अमृत कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । आउँदो पुस महिनासम्म म्याद रहेपनि ६ महिना अगावै पुल सम्पन्न भएको कार्यालयले जनाएको छ ।
उक्त पुलबाट पानपा वडा नम्वर ६, ९, १० तथा गोनपा वडा नम्वर १२ का स्थानीय बढी लाभान्वित हुने कार्यालय प्रमुख अर्यालले बताए । ‘यो पुल बनेपछि तल्लो शेरा र माथिल्लो शेरा सडकमा बाह्रै महिना सवारी गुड्छ, त्यहाँ उत्पादन भएको कृषि उपजलाई बजारसम्म ल्याउन पनि सजिलो हुन्छ,’ उनले भने । समय अगावै पुल सम्पन्न भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।



































