गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहको नाममा सेवाग्राहीबाट पैसा असुल गरेको थाहा पाए कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । शुक्रवार गृह जिल्ला गोरखा आएका उनले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुलाई त्यस्तो भेटिएमा आफै एक्सनमा उत्रिने बताए ।
‘बिचौलिया आएर यहाँ काम मिलाउने, नागरिकताको यो मिल्दैन अलिकति पैसा दिए मिलाइदिन्छु भनेको मेरो कानमा मात्र प¥यो भने म व्यक्तिगत रुपमा आफै एक्सन लिन्छु,’ उनले भने, ‘मलाई पावरमा पठाएको कारण नै सुशासनका लागि हो, त्यसैले यसमा कुनै एक्सक्यूज हुदैन ।’
नागरिकले सहज रुपमा सेवा पाउनुपर्ने बताउँदै उनले एकद्धार प्रणाली लागू भए नभएको निरिक्षण गर्ने समेत बताए । ‘गृहमन्त्रीको जिल्लामै वान डोर सिस्टम लागू नभए अन्यत्र लागू गर्न गाह्रो हुन्छ, म भोलि यसको निरिक्षण गर्छु, कतै ग्याप देखे त्यही अनुसार कारवाही हुन्छ,’ उनले भने । टोकन प्रणाली लागू गर्न र नागरिकलाई अनावश्यक झन्झट नदिन कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।
१५ मिनेटभित्र सेवाग्राहीको काम हुनुपर्ने बताउँदै उनले सोही अनुसार कर्मचारीहरुको कामको मूल्याकंन हुने बताए । ‘१५ मिनेटभित्र नागरिकको काम बनिसक्नुप¥यो, सेवा प्रवाह भइसक्नुप¥यो,’ उनले भने, ‘१५ मिनेटको ठाउँमा १६ मिनेट भयो भने म कम्प्रमाइज गर्दिन ।’ सेवाका लागि प्रत्येक ढोका धाउनु नपर्ने गरी टोकन प्रणाली लागू गर्न समेत उनले सुझाए ।
आफ्नो बोली व्यवहार र आचरण सुधार गर्न उनले कर्मचारीको ध्यान केन्द्रित गराए । ‘यो क्षेत्र मेरा लागि महत्वपूर्ण छ, त्यसैले यहाँका नागरिकले सहज रुपमा सेवा पाउनुप¥यो, कर्मचारीको बोली बचन मिठो हुनुप¥यो । तपाईहरुको समस्यामा म सहिजकरण गर्छु, तपाईहरुले नागरिकको समस्यामा सहजिकरण गर्नुप¥यो,’ उनले भने । काठमाडौं बसेर यहाँका कर्मचारीको काम हेर्न मिल्ने गरी आवाजसहितको सिसिटिभी जडान गर्न उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए ।



































