रसुवा बाढीले बगाएर ल्याएको शव खोजीका लागि त्रिशुली नदी किनारमा नेपाल प्रहरीको तालिमप्राप्त ‘केनाइन’ (कुकुर) प्रयोग भएको छ । शहिदलखन गाउँपालिका–४ कुरिनटारस्थित नदी किनारमा ‘केनाइन’ प्रयोग भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका डिएसपी राजकुमार श्रेष्ठका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय केनाइन उपशाखा पोखराबाट प्रहरी नायव निरीक्षक मिलन केसीको कमाण्डमा तालिमप्राप्त दुई वटा कुकुरसहित थप जनशक्ति परिचालन भएको हो ।
‘हाम्रो कार्यालयबाट प्रहरी निरीक्षक बिशाल अधिकारीको कमाण्डमा ३५ जनाको टोलि केही दिनदेखि खोजी तथा उद्धार कार्यमा निरन्तर त्यहाँ खटिएको छ,’ उनले भने, ‘सँगै नेपाली सेना र सशस्त्र प्रहरी पनि परिचालन भएको छ ।’ फेवाटार, सिलिङटार, त्रिवेणीघाट लगायत त्रिशुली नदी किनारमा शव खोजी कार्यलाई तिव्र बनाइएको उनले बताए ।
उनका अनुसार केनाइको प्रयोगले शव फेला पार्न सहयोग पुगेको छ । हालसम्म जिल्लामा ७७ जनाको शव फेला परिसकेको छ ।



































