हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु आधार शिविरमा आमरण अनसन बसेका युवाहरुलाई वार्तामा आउन गण्डकी प्रदेश सरकारले आग्रह गरेको छ । छलफल तथा वार्ताको माध्यमबाट माग सम्बोधन गर्न उपयुक्त हुने भन्दै तत्काल अनसन स्थगित गरी वार्तामा आउन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आग्रह गरेको हो ।
आइतवार सार्वजनिक रुपमा अपिल गर्दै कार्यालयले छलफल र वार्ताको माध्यमबाट तीनै तहको सरकार र नागरिक समाजको सक्रियतामा माग सम्बोधन गर्नु उपयुक्त रहेको बताएको छ । उठान भएका मागहरु नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित अन्य निकायसँग समन्वय गरी यथोचित सम्बोधन गर्न÷गराउन प्रदेश सरकार सकारात्मक रहेको कार्यालयले छ ।
युवाहरुले उठान गरेका बिषय संवेदनशील तथा जनसुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले प्रदेश सरकार यसप्रति गम्भिर रहेको समेत बताइएको छ ।
जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि बिभिन्न माग राख्दै उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको दश जना टोलि शुक्रवारदेखि मनास्लु आधार शिविरमा आमरण अनसनमा बसेका छन् ।
जलवायु परिवर्तनका कारण हिमतालहरु फुट्ने जोखिम बढेकाले बेलैमा त्यसतर्फ उचित कदम चाल्न सरकारलाई उनीहरुले सचेत गराएका छन् । उत्तरी गोरखास्थित बिरेन्द्रताल (सामागाउँ), कालताल (प्रोक), हरियो ताल (पुगेन) लगायतका जोखिमयुक्त हिमतालहरुको मापन गरि भविष्यमा हुनसक्ने बिष्फोटको जोखिम अध्ययन गर्न उनीहरुले सरकारलाई आग्रह गरेका छन् ।
नेपालको मानव वस्ती नजिकै रहेको चीनतर्फको हिमतालहरुको दुवै देशका संयन्त्रहरुले संयुक्त अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने र मनास्लु क्षेत्र र चुम उपत्यकामा रहेको हिमतालहरुको हवाई अनुगमन गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।
विपदको पूर्व सूचना दिने गरी जोखिमयुक्त वस्ती नजिक साइरन जडान गर्नुपर्ने समेत उनीहरुको माग छ ।



































