बूढीगण्डकी बाढीले पुल बगाएपछि केरौजावासीका लागि तार र घिर्निको सहाराबाट खाद्यान्न ढुवानी गरिएको छ । गाउँमा खाद्य संकट हुन नदिन स्थानीय जुगाड गरिएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
‘बाढीले खोर्लावेशी र केरौजावेशी जोड्ने झोलुङ्गे पुल बगाएदेखि केरौजावेशीमा खाद्यान्न ढुवानी हुन सकेको छैन,’ उनले भने, ‘खाद्य संकट हुन सक्छ भनेर यो जुगाड गरेका हौ ।’ उनका अनुसार खाद्यान्न ढुवानीका लागि नदी वारपार बिजुलीको तार बाँधिएको छ । तार बाँध्न वारी (खोर्लावेशी) तर्फ झोलुङ्गे पुलको जीप र पारी (केरौजावेशी) तर्फ रुखको सहारा लिइएको छ । ग्याविन तार प्रयोग गरेर बनाइएको रिङ र जालीमा सानो बाकस अड्याएर तारमा झुण्ड्याइएको छ । बाकस वारपारका लागि घिर्निको प्रयोग गरिएको छ । सोही बाकसमा खाद्यान्न राखेर नदी पार गराइएको पालिका अध्यक्ष गुरुङले बताए ।
‘हिजो केही खाद्यान्न पठायौ, आज पनि पठाइरहेका छौ, यताबाट नदी पार गराएपछि उताबाट स्थानीयले बोकेर गाउँसम्म लान्छन्,’ उनले भने । चामल, नुन, तेल, चिनि लगायतका खाद्यान्न पठाइएको उनले जानकारी दिए । उनका अनुसार केरौजावेशीमा कुल १५ घरधुरी छन् ।
असोज २५ गतेको बूढीगण्डकी वाढीले धार्चे गाउँपालिकामा मात्रै चार वटा पुल बगाएको छ । माछाखोला र लामावेशी जोड्ने पुलसँगै वडा नम्वर १ र ३ जोड्ने दोभान र ठाडोभ¥याङस्थित झोलुङ्गे पुलहरु पनि बगाएको गुरुङले बताए ।
त्यस्तै दोभान र खोत्राङ जोड्ने बेलिब्रिज समेत बगाएको उनले जानकारी दिए । पुल बगाएसँगै बिशेष गरी केरौजा, रुन्चेक, हुल्चुक र केरौजावेशी जाने बाटो ठप्प भएको उनको भनाइ छ । सो क्षेत्रका करिव आठ सय घरधुरी सम्पर्क विच्छेद बनेको बताइएको छ ।



































