४ जेठ, गोरखा । गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्ण राना निर्वाचित भएका छन् । प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका राजनराज पन्तलाई १ हजार ८५६ को फराकिलो मतान्तरले पछि पार्दै राना निर्वाचित भएका हुन् ।
रानाले ८ हजार ९६४ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका पन्तले ७ हजार १०८ मत मात्र प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा राना र पन्त बिच प्रतिस्पर्धा भएको थियो । उक्त समयमा ६ हजार ५६० मत ल्याएर पन्त बिजयी भएका थिए भने रानाले ५ हजार २६ मत प्राप्त गरेका थिए । तर यसपटक भने नतिजा उल्टिएको छ ।
मेयरका अर्की उम्मेदवार नेकपा एमालेकी सम्झना देवकोटाले ४ हजार ९०९ मत प्राप्त गरेकी छन् । उपमेयरमा कांग्रेसकी उम्मेदवार मसली माया थोकर निर्वाचित भएकी छन् । उनले ७ हजार ४५३ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका नारायण खत्रीले ६ हजार ७१८ मत प्राप्त गरे । एमालेका उम्मेदवार देवी बहादुर बस्नेतले ४ हजार ९३४ मत ल्याएका छन् ।
नगरपालिकाको मेयर उपमेयरमा माओवादी र जसपा बिच चुनावी गठवन्धन भएको थियो ।
१४ वडा रहेको गोरखा नगरपालिकामा ६ वटा वडामा कांग्रेस, पाँच वटामा मोआवादी केन्द्र, दुई वटामा नेकपा एमाले र एउटामा स्वतन्त्र उम्मेदवार बिजयी भएका हुन् । वडा नम्वर १,२,९,१०,१२,१३ कांग्रेस, ४,७,८,११,१४ माओवादी र ३,५ एमालेले जितेको हो ।



































