१० जेठ, गोरखा । जिल्लाको नौ पालिका जितेर स्थानीय तह निर्वाचन २०७४ मा पहिलो पार्टी बनेको कांग्रेस यसपटकको चुनावमा दुई पालिकामा खुम्चियो । यसअघि जितेका पालिका मध्ये आरुघाट र सिरानचोकको नेतृत्व मात्र जोगाउन सफल भयो । अन्य स्थानीय तह भने माओवादी केन्द्रले हात पा¥यो ।
२०७४ सालको निर्वाचनमा कांग्रेसले गोरखा र पालुङटार नगरपालिका सहित अजिरकोट, गण्डकी, चुमनुव्री, धार्चे र भीमसेन थापा गाउँपालिका पनि जितेको थियो । तर यसपटकको निर्वाचनमा लज्जास्पद हार व्यहोर्दे आफ्नो बिरासत जोगाउन कांग्रेस असफल बन्यो । वडा नेतृत्वमा पनि कांग्रेसको नजिता खस्कियो । २०७४ को निर्वाचनमा कुल ९४ मध्ये ४५ वडा जितेको कांग्रेसले यसपटक ३७ वटा वडा मात्र जित्यो । अघिल्लो र यसपटकको निर्वाचनको परिणामलाई तुलना गर्दा जिल्लामा कांग्रेस यसपटक असफल देखियो । पार्टी भित्रै भएको घात अन्तरघातले चुनाव हारिएको कांग्रेस नेताहरुको बुझाइ छ ।
यता माओवादी केन्द भने यसपटक छलाङ मार्न सपल बन्यो । २०७४ को निर्वाचनमा दुई पालिका मात्र जितेको माओवादीले यसपटक नौ पालिकाको नेतृत्व जित्यो । अघिल्लो निर्वाचनमा जित हासिल गरेको बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकालाई यथावत राख्दै यसपटक माओवादीले गोरखा र पालुङटार नगरपालिका सहित अजिरकोट, गण्डकी, चुमनुव्री, धार्चे र भीमसेन थापा गाउँपालिकामा पनि आफ्नो नेतृत्व जित्न सफल बन्यो । वडाको नेतृत्वपनि बढाएर ३० वाट ४३ पु¥यायो । कांग्रेस भित्रको किचलो, जनता समाजवादी पार्टीका केही कार्यकर्ता पुनः माओवादीमा फर्कनु र केही पालिकामा भएको गठवन्धनका कारण पनि यसपटक माओवादीले अनेपेक्षित जित हासिल गरेको कतिपयको बिश्लेषण छ ।
यसअघिको चुनावमा पालिका नेतृत्वमा आउन नसकेको नेकपा एमाले र जसपा यसपटक पनि असफल देखियो । जिल्लाको एघार स्थानीय तहमध्ये उनीहरुले यसपटक पनि कुनै पालिका प्रमुख उपप्रमुखको नेतृत्व जित्न सकेनन् । उल्टै अघिल्लो चुनावमा जितेका केही वडाहरु पनि गुमाउनुप¥यो । २०७४ सालको निर्वाचनमा १४ वटा वडा जितेको एमाले यसपटक १० वटा वडामा खुम्चिनुप¥यो । ५ वटा वडा जितेको जसपाले यसपटक ३ वडा मात्र जितेको छ ।



































